चार महिनाको तलब विद्यालयलाई


३० आश्विन २०७५, मंगलवार
school

बलेवा, ३० असोज । बागलुङ काठेखोला गाउँपालिका–१ का वडाध्यक्ष खड्क थापाले आफ्नो चार महिनाको पारिश्रमिक विद्यालय अक्षयकोष स्थापनाका लागि खर्च गर्ने घोषणा गरेका छन् ।

school

थापाले वडाध्यक्षको रुपमा काम गर्न बाँकी रहेको चार वर्षमध्ये प्रत्येक वर्ष एक विद्यालयका दरले वडाभित्रका चारै विद्यालयमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् ।

हरेक बर्ष एक महिनाको तलब भत्तालगायतका सुविधा विद्यालयमा हस्तान्तरण गरेर अक्षयकोष स्थापना गर्न लागेको उनले बताए । अक्षय कोषको ब्याजबाट आउने रकमलाई आवश्यकताका आधारमा विभिन्न शीर्षकमा खर्च गर्नेगरी विद्यालयको संरक्षणमा राखिने छ ।

गरीबीका कारण विद्यालय बाहिर रहेका बालबालिकाको शिक्षादिक्षा, छात्रावृत्ति, पुरस्कार वितरण लगायतका विद्यार्थीको वृत्ति विकासलगायत शीर्षकमा खर्च हुने गरी अक्षयकोष स्थापना गर्न लागिएको हो ।

‘एक महिनाको सबै सुविधा विद्यालयलाई उपलब्ध गराउँदा विपन्न विद्यार्थीलाई सहयोग पुग्छ, भन्ने लागेको छ’, वडाध्यक्ष थापाले भने, ‘मैले शुरुवात मात्रै गरेको हो, सामुदायिक विद्यालयको सुधारका लागि अन्य मनकारीले पनि सहयोग गर्नुहुन्छ, भन्ने लागेको छ ।’

जनप्रतिनिधि भएकाले समाजको उत्तर दायित्व आफूमा रहेको भन्दै उनले विद्यार्थीको उज्वल भविष्यका लागि अक्षयकोष स्थापना गर्ने सोच बनाएको बताए ।

दशैंका लागि एक अर्ब विप्रेषण भित्रियो
नवरात्री शुरु भएसँगै बागलुङका रेमिट्यान्स (विप्रेषण) केन्द्रमा मानिसको भीडभाड लाग्न थालेको छ । वैदेशिक रोजगारीमा गएकाले दशैँखर्च पठाउने र आफू घर फर्किंदा रेमिट्यान्समार्फत पैसा पठाएर आउने भएकाले केन्द्रमा भीड लागेको हो ।

रेमिट्यान्स केन्द्रमा लागेको भीडसँगै दशैँतिहारका लागि बागलुङमा झण्डै एक अर्ब रेमिट्यान्स भित्रिएको छ । बागलुङ मनिट्रान्सफरका सञ्चालक दुर्गा कुँवरले अहिलेसम्म आफूले मात्र छ करोड भन्दा बढी रेमिट्यान्स वितरण गरिसकेको बताए ।

कुँवरले आफ्नो मनिट्रान्सफरमा अघिपछि भन्दा यस बेला दैनिक ४० लाखदेखि ५० लाखसम्म हाराहारीमा कारोबार हुने गरेको बताए ।

बागलुङ सदरमुकामका सयपत्री, कालिका, क्वीक, बागलुङ कालिका मनिट्रान्सफर, गलकोट, बूर्तिवाङ, कुश्मीसेरा, खर्वाङलगायतका ठाउँमा दर्जनांै मनिट्रान्सफरबाट दशैंका बेला दैनिक छ करोड भन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ ।

कालिका मनिट्रान्सफर बागलुङका सञ्चालक अनुप रिजालले दशैँको मौकामा रेमिट्यान्स रकम बढ्ने गरेको बताउनुभयो ।

सयपत्री मनिट्रान्सफरका देबु पौडेलले अन्य समयमा ८–१० लाख रेमिट्यान्स कारोवार हुने गरेकोमा यो समयमा दिनहुँ रु २५ देखि रु ३० लाखको हाराहारीमा कारोबार हुने गरेको बताए ।

लाहुरेको जिल्लाका रुपमा परिचित बागलुङमा दशैँका बेला अन्य समयमा भन्दा धेरै रेमिट्यान्स भित्रिने गरेको व्यवसायीको अनुभव छ ।

वैदेशिक रोजगारीमा जानेको संख्या अत्याधिक भएकाले दशैँका बेला करोडौँं रुपैयाँ रेमिट्यान्स भित्रने गरेको रमिट््यान्स व्यवसायी बताउछन् । रेमिट््यान्स (विप्रेषण) भुक्तानी केन्द्रका अलावा बैंक तथा अन्य वित्तीय संस्थामार्फत समेत भित्रिइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७