बिहान १० बजेसम्म २५ प्रतिशत मतदान
काठमाडौं: प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पहिलो चरणको निर्वाचनमा ३२ जिल्लामा आज बिहान ७ बजेदेखि शुरु भएको मतदानमा विहान १० बजेसम्ममा २५ प्रतिशत मतदान भएको निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जनाएका छन ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार, हिमाली भेगका केही स्थानमा चिसोका कारण केही ढिला मतदान शुरु भएपनि अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान कार्य जारी रहेको छ । प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा चार हजार ४६५ मतदान केन्द्रहरुमा मतदान सुरु भएको छ । मतदान साँझ पाँच बजेसम्म जारी रहनेछ ।
पहिलो चरणमा आज प्रदेश नं. १ का सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पाँचथर र खोटाङमा मतदान भइरहेको छ ।यस्तै प्रदेश नं. ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नंं. ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लम्जुङ र गोरखा, प्रदेश नंं. ५ का रुकुम पूर्वी भाग र रोल्पामा मतदान भइरहेको छ ।
प्रदेश नं. ६ का रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पा तथा प्रदेश नं. ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा मतदान कार्य जारी रहेको छ ।पहिलो चरणको यस निर्वाचनमा कूल ३१ लाख ९१ हजार ९४५ मतदाता रहेका छन् ।