छोरी जन्मिँदा गाउँपालिकाले बैंक खाता खोलिदिने


२६ पुष २०७५, बिहीबार
baby

चितवन, २६ पुस । इच्छाकामना गाउँपालिकाले गाउँपालिकाभित्रको स्वास्थ्य संस्थामा जन्मिएका छोरीको नाममा रकमसहितको बैंक खाता खोल्ने भएको छ ।

baby

गाउँपालिकाले एक जना बालिकाको खातामा रु पाँच हजार जम्मा गरी अभिभावकलाई समेत कम्तिमा रु पाँच हजार जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । भ्रुण हत्या बढ्न थालेपछि सो अभियान शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

अभिभावकको अवस्था कमजोर रहेमा दाता समेत खोजी रकम जम्मा गराउने गाउँपालिकाले जनाएको छ । गाउँपालिका प्रमुख गीता गुरुङकाअनुसार गाउँपालिकाभित्रका बच्चा जन्माउने चार वटा केन्द्रमा जन्मिएका छोरीका नाममा खाता खोल्न लागिएको हो । इच्छाकामना–१ को हात्तिवाङ–४ को कुरीनटार, ६ को चण्डीभञ्ज्याङ र ७ को माथिल्लो दाहाखानीमा बर्थिङ सेन्टर रहेको छ ।

सो गाउँपालिकाको चार वटा बर्थिङ सेन्टरमा गत वर्ष जन्मिएका शिशुमध्ये २७ छोरी र १०० छोरा भएपछि आफूले बाल बचत कार्यक्रम शुरु गरेको उनले बताए । सो गाउँपालिकामा जनसंख्या २५ हजार १२ रहेको छ । जसमध्ये १३ हजारभन्दा बढी महिला रहेका छन् ।

गाउँपालिकाले स्थानीयस्तरमा रहेका सहकारी र ठूला संस्थासँग समेत छोरीको खातामा रकम राखी सहयोग गरिदिन अनुरोध गरेको अध्यक्ष गुरुङले बताए । ती खातामा कम्तीमा रु १० हजार र त्यो भन्दामाथि निक्षेप राखी उच्च शिक्षा अध्ययनका बेला उपयोग गर्ने योजना बनाइएको छ । छोरीकै नाममा हुने खाताको संरक्षक अभिभावक हुनेछन् ।

हालका लागि गाउँपालिकाभित्रका बर्थिङ सेन्टरमा मात्रै जन्मिएका छोरीको नाममा खाता खोले पनि पछि सो गाउँपालिकाबाट अन्यत्र गएर छोरी जन्मिएमा पनि खाता खोलिदिने योजना रहेको उनले बताए । गाउँपालिकाले चालू आर्थिक वर्षका लागि रु ३० लाख बजेट महिला र बालबालिकाका लागि विनियोजन गरी महिलाको चेतना अभिवृद्धिसँगै सीपमुलक तालीम समेत दिंदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७