बलात्कार आरोपी वडाध्यक्षद्वारा आत्मसमर्पण
तनहुँ, ७ माघ । स्थानीय एक महिलामाथि बलात्कार गरेको आरोपपछि फरार रहेका शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले अदालतमा आत्मसमर्पण गरेका छन् ।
सोही वडाकी एक महिलाले रेग्मीले आफूलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय बेलचौतारामा गत मंसिर पहिलो साता जाहेरी दर्ता गराएकी थिइन् । महिलाले प्रहरीमा जाहेरी दिए लगतै रेग्मी फरार थिए । जाहेरी परेपछि अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय बेलचौताराले उनको खोजी गरिरहेको थियो ।
ती महिलाले सोमबार शुक्लागण्डकी नगरपालिकाको न्यायिक समितिमा पनि रेग्मीविरुद्ध निवेदन दर्ता गराएकी थिइन् । न्यायिक समितिले बलात्कारको मुद्दा आफूले नहेर्ने भन्दै प्रहरीमा पठाएको थियो ।
यसअघि नै वडाध्यक्ष रेग्मीले आफूलाई फसाउन खोजिएको दाबीसहित आरोप अस्वीकार गरेका थिए । आत्मसमर्पण गरेपछि उनीविरुद्ध महिलाको जाहेरीका आधारमा अदालतमा म्याद थप गरेर मुद्दा अघि बढाइने प्रहरीले जनाएको छ ।