बालुवाटारमा प्रचण्ड, ओली र रविबीच तीन घण्टा वार्ता


२३ बैशाख २०८१, आईतवार
Prachanda Oli Lamichhane Rabi 1536x959 1

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबीच तीन घण्टा छलफल भएको छ ।

तीन शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटवार्तामा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । पछिल्लो समय नेपाली काँग्रेसले गृहमन्त्री लामिछानेको नाम मुछिएको सहकारी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ । सरकारले आगामी वैशाख २८ गते बजेट अधिवेशन बोलाएको छ । अधिवेशन सुरू हुनुअघि नै समिति गठनबारे निष्कर्ष निकाल्ने प्रधानमन्त्रीले प्रयास गरिरहेका छन् ।

‘बजेट निर्माण प्रक्रिया, प्रदेश सरकार, विश्वविद्यालय लगायतका विषयमा साझा धारणा बनाउने गरी उहाँहरू छलफलमा जुट्नु भएको हो,’ बालुवाटार स्रोतले भन्यो । पार्टी संसदीय दलको बैठकदेखि सर्लाहीमा आयोजित कार्यक्रमसम्म सकेर प्रचण्डले शनिबार साँझ ओली र लामिछानेसँग झण्डै तीन घण्टा छलफल गरेका हुन् ।

शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा पनि प्रधानमन्त्री प्रचण्डले यसबारे ब्रिफिङ गरेका थिए। बैठकमा सहभागी एक सांसदका अुनसार, पार्टीमा छलफल गरेपछि मात्रै सत्ता गठबन्धन र प्रतिपक्षी दलका नेताहरूसँग छलफल हुने प्रचण्डले बताएका थिए ।

सोही अनुसार उनले शनिबार साँझ नै गृहमन्त्री लामिछाने र अध्यक्ष ओलीसँग एक चरणको छलफल सकाएका छन् । प्रचण्डले देशभरका सहकारी समस्या समाधान गर्नेगरी छानबिन समिति बनाउने प्रस्तावसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेट्ने तयारी गरेका छन् । त्यस्तै, विभिन्न प्रदेशमा देखिन थालेको सत्ता संकट समाधान गर्नेबारे प्रचण्ड–ओली निरन्तर छलफलमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७