काठमाडौंमा थपिँदै १८ नयाँ पार्क, कहाँ-कहाँ बन्दैछ पार्क ?


२८ माघ २०७५, सोमबार
park

काठमाडौं, २८ माघ । काठमाडौं जिल्लामा १८ वटा नयाँ पार्क थपिने भएका छन् । काठमाडौं महानगर र आसपासका नगरपालिकामा पार्क थपिने भएका हुन् ।

park

काठमाडौं महानगरले आफैँले नौवटा र छिमेकी नगरपालिकाले नौवटा पार्क बनाउने भएका छन् । महानगरले आइतबार नौवटा नगरपालिकालाई एक–एक करोड रुपैयाँका दरले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । महानगरले कीर्तिपुर, शंखरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बुढानीलकण्ठ, तारकेश्वर, नागार्जुन, चन्द्रागिरी र दक्षिणकाली नगरपालिकासँग सम्झौता गरेको हो । टोखा नगरपालिकाले भने गत २० असारमै पार्क बनाउन आर्थिक सहयोगको रकम लगिसकेको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको एकीकृत विकासका लागि नगरपालिकाबीच एउटै मत भएको बताए । ‘महानगरभित्र गर्नुपर्ने काम धेरै छन् । ती काम गरिरहेका पनि छौँ । तर, छिमेकी नगर समृद्ध नभई महानगर एक्लै समृद्ध हुन सक्दैन,’ आइतबार आयोजित कार्यक्रममा उनले भने, ‘त्यसैले हामी नगर—नगर साझेदारिताबाट अघि बढेका हौँ ।’ उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले काठमाडौंको समग्र विकासमा नगर–नगर साझेदारी कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन् ।

किन बनेन तीनकुने पार्क ?
तीनकुनेमा आधुनिक पार्क बनाउने योजना भने अहिलेसम्म योजनामै सीमित बनेको छ । सरकारले तीनकुनेमा हरियालीयुक्त पार्क बनाउने योजना २०५९ सालमै ल्याएको थियो । तर, पटक–पटक चर्किएको मुआब्जा विवादका कारण अहिलेसम्म पार्क निर्माण हुन सकेको छैन । उक्त स्थानभित्र पर्ने २५ रोपनी जग्गा व्यक्तिगत नाममा दर्ता भएको र जग्गाधनीलाई प्रदान गरिने मुआब्जा विवादका कारण पार्क निर्माण कार्य रोकिएको महानगरले जनाएको छ ।

महानगरमा फिल्मसिटीदेखि चेस पार्कसम्म
महानगरभित्र थप नौवटा पार्क बन्नेछन् । त्यसका लागि काठमाडौं महागनरपलिका सहरी योजना आयोगले डिजाइनसमेत तयार गरिसकेको छ । आयोगका अनुसार केही पार्कको निर्माण सुरु भइसकेको छ । आयोगका अधिकृत सुशील सुवेदीका अनुसार बन्न लागेका पार्कको लागत १२ लाखदेखि आठ करोड रुपैयाँसम्म छ ।

कामनपा–२१ स्थित लगनटोलमा ‘सिलखाना पार्क’ बनाउन लागिएको छ । राणा शासनकालमा सेनाले हतियार राख्ने गरेको सिलखानाको भवन जीर्ण भएर भत्काइएको र अब सेनासँगको सहयकार्यमा पार्क निर्माण गर्न लागिएको महानगरले जनाएको छ । एक वर्ष्भित्र सम्पन्न गर्नेगरी आठ करोड लागतमा कमल पोखरी संरक्षण गुरुयोजनाको काम भइरहेको छ ।

यहाँ बाल उद्यान, आधुनिक लाइटिङ र छठ पर्वलाई लक्षित गरेर अन्य पूर्वधार निर्माण हुनेछन् । कामपा–४ मा टुँडालदेवी मन्दिर पार्क बन्नेछ । ४ नम्बर वडामै ज्येष्ठ नागरिक पार्क बन्ने सुवेदीले बताए । थापाथलीमा ३९ लाखको लागतमा ‘चेस पार्क’ निर्माण हुनेछ । बौद्धमा बाग्मती नगर नमुना पार्क बन्नेछ भने बाग्मती संरक्षण गुरुयोजनाअन्तर्गत ११ रोपनी क्षेत्रफमा छुट्टै अर्को आधुनिक पार्क महानगरले बनाउने छ ।

रानीबारी पार्क र बाँसबारी पार्क समेत बनाउन लागिएको महानगरले जनाएको छ । महानगरले बालाजु २२ धारा पार्कलाई फिल्म सिटीका रूपमा विकास गर्नेगरी गुरुयोजना बनाइरहेको छ । फिल्म स्टुडियोसहितको उक्त पार्क बनाउन गुरुयोजना तयार भइरहेको र करिब एक अर्ब लागनी हुने महानगरको अनुमान छ ।

कुन नगरपालिकामा कहाँ बन्दै छन् पार्क ?
कीर्तिपुर नगरपालिकाले १, २ र १० नम्बर वडालाई समेट्ने गरी ‘युद्ध स्मारक पार्क’ निर्माण गर्ने योजना पेस गरेको छ । यो पार्क ५५ रोपनी क्षेत्रफलमा निर्माण हुनेछ । महानगरबाट प्राप्त सहयोगबाट शंखरापुर नगरपालिकाले वडा नम्बर ९ बज्रयोगिनी मन्दिर क्षेत्रमा ‘हरित उद्यान’ निर्माण गर्ने भएको छ । कागेश्वरी नगरपालिका–१ मा रहेको प्रसिद्ध कागेश्वरी मन्दिर र त्यसवरिपरिको क्षेत्रमा ५५ रोपनी क्षेत्रफलमा ‘प्रसिद्ध कागेश्वरी धाम’ निर्माण हुने भएको छ ।

गोकर्णेश्वर नगरपालिका–९ जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति पार्क क्षेत्रभित्र ‘गोकर्णेश्वर पार्क’ निर्माण गरिनेछ । बुढानीलकण्ठ नगरपालिका–८ हात्तीगौँडामा ‘बुढानीलकण्ठ पार्क’ निर्माण गर्ने नगरको योजना छ । तारकेश्वर नगरपालिका–३ धाम क्षेत्रमा ‘तारकेश्वर धाम’ करिब १० रोपनी सार्वजनिक जग्गामा निर्माण हुनेछ ।

नागार्जुन नगरपालिका–६ डाँडापौवामा ‘गणेशमान स्मृति पार्क’ निर्माण गर्ने प्रस्ताव महानगरमा पेस भएको छ । चन्द्रागिरि नगरपालिका–१३ स्थित कंकाली मन्दिर क्षेत्रमा पर्या–पर्यटन एवंं ऐतिहासिक सांस्कृतिक पर्यटन क्षेत्र तयार पार्नेछ । दक्षिणकाली नगरपालिका–५ मा रहेको गोरखनाथ मन्दिरबाट करिब ३ सय मिटर माथिसम्म पार्क बनाउने प्रस्ताव पेस भएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७