माइतीघरमा सट्टा शिक्षकको विरोध प्रदर्शन, एसईई प्रभावित हुने चेतावनी


१९ फाल्गुन २०७५, आईतवार
teacher 1

काठमाडौं, १९ फागुन । स्रोतव्यक्ति सट्टा शिक्षक संघर्ष समितिले काठमाडौंको माइतीघर मण्डलामा आज विरोध प्रदर्शन गरेको छ ।

teacher 1

सरकारले आफूहरुको रोजगारी खोसेको भन्दै संघर्ष समितिले लामो समयदेखि विरोधका कार्यक्रम गर्दै आइरहेको छ । आइतबार बिहान माइतीघर मण्डलामा गरिएको प्रदर्शनका कारण केहीबेर ट्राफिक व्यवस्थापन प्रभावित भएको थियो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्रोत व्यक्तिहरुलाई साविकको दरवन्दीमा काज फिर्ता गर्ने र उनीहरुको सट्टामा नियुक्त शिक्षकहरुलाई माघ महिनासम्मको मात्र तलब भत्ता दिएर सेवाबाट हटाउने निर्णय गरेको थियो ।

तर, सट्टा शिक्षकलाई माघ महिनासम्मको मात्र तलबभत्ता दिएर बिदा गर्न भन्दै फागुन ८ गते परिपत्र गरिएको थियो । त्यतिबेला सट्टा शिक्षकहरुले विद्यालयमा पढाइरहेका थिए । कतिपय विद्यालयमा स्रोत व्यक्तिहरु काजमा नफर्किएकाले सट्टा शिक्षकहरुले नै पढाइरहेका छन् । तर, उनीहरुले पाउने तलबको टुंगो छैन ।

रोजगारलाई मौलिक हकको रुपमा संविधानमा व्यवस्था गरेको सरकारले सट्टा शिक्षकहरुलाई सेवाबाट हटाएर बेरोजगार बनाएको भन्दै उनीहरु विरोधमा छन् । स्रोत व्यक्ति सट्टा शिक्षक केन्द्रीय संघर्ष समितिका अध्यक्ष बासुदेव शर्माले भन्छन्, ‘रोजगार सबैको अधिकार भनेर प्रधानमन्त्री रोजगारका कार्यक्रम घोषणा गरेको दुई दिनपछि दशौं वर्षदेखि सेवा गरिरहेका १ हजार ५३ सट्टा शिक्षकहरु र ७५ जना अस्थायी स्रोत व्यक्तिहरुलाई हटाउने निर्णय गरेर बेरोजगार बनाउनुले सरकारको नीति नै बिरोधाभाष देखिएको छ ।’

सरकारले स्रोत व्यक्तिलाई फेरि पठनपाठनको लागि विद्यालय फर्काउन लागे पनि स्रोत व्यक्तिहरु स्वयम् यसप्रति असन्तुष्ट छन् । लामो समयदेखि स्रोत व्यक्तिको रुपमा काम गरेका उनीहरु फेरि विद्यालयमा गएर पढाउने वातावरण नभएको बताउँछन् ।

संघर्ष समितिले सट्टा शिक्षकलाई सेवाबाट हटाउँदा नजिकिँदो एसईई परीक्षा प्रभावित हुन सक्ने चेतावनी समेत दिएका छन् । आगामी चैत महिनामा हुन लागेको एसईई परीक्षा प्रभावित हुन सक्ने भएकाले धेरैजसो सट्टा शिक्षकहरुले अझै पनि पढाइरहेको भन्दै फागुन महिनाको तलब भत्ता पनि नेपाल सरकारबाटै व्यवस्था हुनुपर्ने संघर्ष समितिको माग गरेका छन् ।

यसैगरी सट्टा शिक्षकलाई जागिर विहीन हुने अवस्थाबाट जोगाउन र फागुन अन्तिम सातातिर आउने लागेको संघीय शिक्षा ऐनमा सट्टा शिक्षकहरुलाई पनि आन्तरिक प्रतिस्पर्धामा भाग लिन पाउने व्यवस्था मिलाउनुपर्ने माग संघर्ष समितिले राखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७