९ बर्षीया बालिकाको कस्तो भाग्य : चिठ्ठामा कार जिते लगतै फेरि पारिन् १० लाख डलरको अर्को चिठ्ठा
काठमाडौं, ४ बैसाख । चिठ्ठा भन्ने कुरा पर्ने–नपर्ने कुराको कुनै टुङ्गो हुँदैन । तर, भारतकी एक ९ वर्षकी बालिकाको भाग्य भने चिठ्ठाले नै चम्काई दिएको छ । भारतकी ९ वर्षीया बालिकाले मंगलबार दुबई ड्युटी फ्रिको मिलेनियम मिलेनियर ज्याकपट अन्तर्गत १० लाख अमेरिकी डलर चिठ्ठा जितेकी छिन् ।
सोही चिठ्ठामा ६ वर्षअघि उनै बालिकाले एक लक्जरी कार पनि जितेकी थिइन् । खलिज टाइम्सका अनुसार एलिजा एम नाम गरेकी बालिकाले टिकट नम्बर ०३३३ नम्बरको टिकटबाट ज्याकपट जितेकी हुन् ।
बालिकाको पिता भारतको मुम्बई शहरका वासिन्दा हुन् । उनी विगत १९ वर्षदेखि उनी दुबईमा बस्दै आइरहेका छन् । उनी सन् २००४ देखि नियमित रुपमा उक्त चिठ्ठामा सहभागी हुँदै आइरहेका थिए ।
आफ्नो भाग्यमानी अंक ९ मान्ने ती व्यक्तिले ०३३३ नम्बरको टिकट अनलाइनबाट खरिद गरेको पत्रिकाले उल्लेख गरेको छ । बालिकाले यसअघि सन् २०१३ को जनवरीमा म्याकलरेन कुप लक्जरी कार जितेकी थिइन् । एजेन्सी