बालुवाटारमा नेकपा सचिवालय वैठक, होला त भोलि पोलिटव्यूरो अनुमोदन ?


२ जेष्ठ २०७६, बिहीबार

काठमाडौं, २ जेठ । पार्टी एकताको अन्तिम घोषणाका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय वैठक बालुवाटारमा बसेको छ ।

CPN Secretariat Committee Meeting
फाइल फोटो

एकताको एक वर्ष र मदन–आश्रित स्मृति दिवसको अवसरमा शुक्रबार विशेष कार्यक्रम गर्ने तयारी स्वरुप सचिवालय वैठक बसेको नेकपा स्रोतले जानकारी दिएको छ । नेकपाले एकता प्रक्रिया टुङ्गो लगाएको घोषणा समेत सोही कार्यक्रममा गर्ने तयारी गरेको छ । सोही तयारी अनुसार नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी छ । बैठकमा बामदेव गौतम बाहेकका अन्य आठ सचिवालय सदस्य सहभागी छन् ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठसँगै नेताहरु ईश्वर पोखरेल र रामबहादुर थापा सहभागी छन् ।

गत वर्ष जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा घोषणा भएको शुक्रबार एक वर्ष पुग्दैछ । तीन महिनामा एकता प्रक्रिया टुङ्गो लगाउने घोषणा गरेको नेकपाले वर्ष दिन पुग्दासम्म पोलिटब्युरो सदस्य चयन र जनसंगठनको एकता गर्न सकेको छैन ।

नेकपाको जनसंगठनभित्र युवा विद्यार्थी, महिला र मजदुरको विवाद पेचिलो छ । पूर्ववत पार्टीमा कसले नेतृत्व लिने भन्ने विवाद उत्कर्षमा छ । पोलिटब्युरो सदस्यको नाम भने दुई अध्यक्षले तयार पारिसकेका छन् । बिहीबारको बैठकले त्यसलाई अनुमोदन गर्ने तयारी गरेको स्रोतले जनाएको छ । नेकपामा १४७ सदस्य पोलिटब्युरो बन्ने छ ।

८१ पूर्व एमाले र ६६ पूर्व माओवादीले लिने सहमति छ । तर, पार्टीमा लामो समय निर्णायक तहबाट योगदान पुर्‍याएका नेताहरु पोलिटव्यूरोमा अट्न नसकेको भन्दै नेता–कार्यकर्तामै चर्चा समेत चलिरहेको छ । आजको सचिवालय वैठकको निर्णयलाई पार्टी र पार्टी बाहिरबाट समेत निकै चासोपूर्वक हेरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७