सरकारले हेप्यो, विवादास्पद विधेयक अगाडि बढाए सशक्त आन्दोलन : देउवा

‘मैले बोल्न माग्दा डराई हाल्नु पर्ने ?’


४ असार २०७६, बुधबार
deuwa

काठमाडौं, ४ असार । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले ल्याएका विवादास्पद कुनै पनि विधेयक अगाडि बढाइए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
सरकारले एकपछि अर्को गर्दै लामो आन्दोलनपछि स्थापित भएका मूल्य मान्यतालाई चत्काउँदै प्रजातन्त्र नै मास्न लागेको आरोप समेत लगाए ।

बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सभापति देउवाले, गुठी बिधेयक, मिडिया काउन्सिल विधेयक, सुरक्षा परिषद विधेयक, मानवअधिकार विधेयक लगायतका विधेयकले लोकतन्त्रलाई बलियो नबनाउने सुझाव दिए ।

‘बोल्न पाउने, लेख्न पाउने कुरा प्रजातन्त्रमा महत्वपूर्ण हो । तर सरकारले त्यसमाथि नियन्त्रण गर्न खोजेर प्रजातन्त्र माथि नै आक्रमण गर्न खोजेको छ । यो कुनै हालतमा पास हुन दिदैनौँ,’ देउवाले थपे, ‘सूचनाको हक कुष्ठित गरिएको छ । संविधानमै सूचनाको हकको व्यवस्था गरिएको छ । मानवअधिकार आयोगमाथि नियन्त्रण गर्नु प्रजातन्त्रमाथिको अर्को आक्रमण हो ।’

देउवाले राष्ट्रिय सुरक्षासम्बन्धी विधेयकको पनि विरोध गरेका छन् । उनले भने, ‘प्रधानमन्त्रीको सिफरिसमा सेना परिचालन गर्ने ? यस्तो अविश्वास किन ? सेना परिचालन गर्ने स्थिति आयो भने सबैले सहयोग गर्छन् । सेना परिचालन गर्ने विषय व्यक्तिले होइन ।’

सभापति देउवाले रक्षा मन्त्रालय र गृहमन्त्रालयमाथि नै अविश्वास गरेर शक्ति प्रधानमन्त्रीमा निहित गर्न खोजेको आरोप समेत लगाए । ‘किन चाहियो सेना प्रधानमन्त्तीलाई ? के गर्नु पर्या छ ? एउटा विप्लवलाई केही गर्न सक्या छैन गर्छ याहा ?’ सभापति देउवाको आक्रोश थियो ।

प्रजातन्त्रको महत्वपूर्ण अङ्ग मानवअधिकार भएको भन्दै देउवाले निर्वाध बोल्न र लेख्ने स्वतन्त्रतामाथि बन्देज लगाउने यी विधेयक फिर्ता गर्न माग गरे । उनले सरकारले जवरजस्ती गरेर अघि बढे सशक्त प्रतिरोध गर्ने भन्दै प्रजातन्त्र विरोधी विधेयकहरुलाई कांग्रेसले कुनै हालतमा नस्वीकार्ने बताए ।
प्रतिपक्षी दललाई हेप्यो

सरकारले दुई तिहाइको घमण्डमा प्रतिपक्षी दललाई हेपेको समेत बताएका छन् । उनले सरकारले विपक्षी दलमाथि बलमिच्याई गर्दै अघि बढेको भन्दै त्यो कुनै पनि अवस्थामा आफूहरुलाई मान्य नहुने बताए । विपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री सदनमा उपस्थिति हुनुपर्ने भन्दै उनले सरकारले प्रतिपक्षी दललाई सधै हेप्ने गरेको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्री बोल्दा पनि विपक्षी नेता उपस्थित हुनुपर्छ ।

विपक्षी नेता बोल्दाखेरी प्रधानमन्त्री आउनै पर्छ । तर यहाँ उनले जहिले पनि हेप्ने काम गरेका छन् ।’ कांग्रेस नेतृत्वको सरकारमा प्रतिपक्षमा बसेर ४८ दिनसम्म लगातार संसद अरुद्ध गरेको स्मरण गराउँदै उनले आफूहरुले बोल्नका लागि मात्रै समय मागेको बताएका छन् । उनले भने, ‘शेरबहादुरले माग्यो मैले दिनुपर्ने भन्ने । मैले माग्दैमा डराई हाल्नु पर्ने । मैले त अरु पनि मागेको छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७