सुन हालसम्मै महँगो, भाउ बढेको मौका सुन बेच्ने बढे
काठमाडौं, १० असार । सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । मंगलबार सुनको भाउ बढेर तोलाको ६५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिएका छन् ।
गएको शुक्रबारदेखि तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा ५ सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस ३० डलरले बढेको छ । सोमबार प्रति औंस १४ सय ४ डलरमा कारोबार भएको सुन मंगलबार १४ सय ३५ डलर पुगेको हो ।
डलर कमजोर हुँदा लगानीकर्ताको आकर्षण सुनमा परेकाले भाउ महँगो भएको शाक्य बताउँछन् । चाँदी भने गएको शुक्रबारदेखि नै तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । बजारमा सुनको भाउ बढेपछि अहिले सुन किन्ने ग्राहकको संख्या ह्वातै घटेको व्यवसायीहरु बताउँछन् ।
तर, सुनको भाउ बढेको मौकामा सुन बेच्नेहरु भने बढिरहेको उनीहरुले जानकारी दिएका छन् । सुनको भाऊ बढेको बेलामा बेचेर पछि भाउ ओरालो लागेका बेला किन्ने सोंचले धेरैजसो सुन बेच्न आउने गरेको व्यवसायीहरुको भनाइ छ ।