इलामका बन्द चिया कारखाना सञ्चालनको वातावरण बनाउन आग्रह


१० असार २०७६, मंगलवार
tea3
फाइल फोटो

काठमाडौं, १० असार । हरियोपत्ति खरिदमा देखिएको मूल्यको समस्याका कारण बन्द रहेका इलाम सूर्योदय नगरपालिकाका ५२ चिया कारखाना सञ्चालनको वातावरण बनाउन नेपाल टी एशोसिएसनले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

हरियोपत्तिको मूल्य विवादका कारण यति धेरै संख्याका उद्योग बन्द हुन पुग्दा नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा गलत सन्देश गइरहेको बताउँदै यस विषयमा गम्भिर हुन एशोसिएसनले सूर्योदय नगरपालिका र चिया उद्योगीहरुलाई आग्रह गरेको छ ।

एशोसिएनले आज एक प्रेस विज्ञप्ती जारी गर्दै उद्योगीहरुसँग कुनै छलफल नै नगरी नगरपालिकाले एकलौटी रुपमा हरियोपत्तिको मूल्य तोक्नु वाञ्छनीय नहुने जनाइएको छ ।

सूर्योदय नगरपालिकाले हरियोपत्तिको मूल्य प्रतिकिलो ४० रुपैंयाँ तोकेपछि उद्योगहरुले नगरपालिकाले निर्धारण गरेको मूल्यमा पत्ति किन्न नसकिने बताउँदै हिजो (सोमबार) देखि सूर्योदय नगरपालिका क्षेत्रभित्रका ५२ चिया कारखाना बन्द गरेका थिए ।

उद्योगहरुले अहिलेको सिजनको चियाको गुणस्तर अनुसार नगरपालिकाले तोकेको मूल्यमा हरियोपत्ति किन्न नसकिने बताउँदै आएको छ । लामो मजदुर आन्दोलनपछि पुनः गति लिएको चिया क्षेत्रमा देखिएको यो समस्या समाधान गर्न सूर्योदय नगरपालिका, सूर्योदय टी एशोसिएन, राजनीतिक दल र स्थानीय बुद्धिजीवि सबै गम्भिर र जिम्मेवार बन्न नेपाल टी एशोसिएसनले ध्यानाकर्षण गराएको छ ।

एशोसिएसनका अध्यक्ष कमल मैनाली र महासचिव केदारमणि पौडेलद्वारा जारी विज्ञप्तीमा इलाममा देखिएको चियाको समस्याले देशका १८ जिल्लामा भइरहेको चिया खेती र उत्पादनमा असर पुग्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७