जुम्लाका २२ विद्यालयमा शिक्षकले नै गरे तालाबन्दी


१६ असार २०७६, सोमबार

जुम्ला, १६ असार । जुम्लाको सिंजा गाउँपालिकाका सामुदायिक विद्यालयमा शिक्षकहरूले नै तालाबन्दी गरेका छन् ।

निजी स्रोतमा अध्यापन गराउँदै आएका शिक्षकहरूले आफूले १० महिनासम्म तलब खान नपाएको भन्दै अनिश्चितकालीन तालबन्दी गरेका हुन् । सिंजा गाउँपालिकामा रहेका २२ विद्यालयका ६३ जना निजी स्रोतका शिक्षकले तालाबन्दी गरेका हुन् ।

प्राथमिक, माध्यमिक र उच्च माध्यमिक विद्यालयमा कार्यरत ६३ शिक्षकले विद्यालयमा एकमुष्ट तालाबन्दी गरेको निजी शिक्षक संघर्ष समितिका कोषाध्यक्ष तथा शान्ति आधारभूत विद्यालय तल्लोगोठीका निजी शिक्षक हरिबहादुर रोकायाले बताए ।

ती विद्यालयका शिक्षकले व्यवस्थापन समितिलाई तलब उपलब्ध गराउन असार ११ गते चार दिनको अल्टिमेटम दिँदासमेत अटेर गरेपछि आइतबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेको शान्तिजन आधारभूत विद्यालय काडागाउँका शिक्षक घनश्याम बूढाले बताए ।

विद्यालय बन्द हुँदा पठनपाठनबाट विद्यार्थी बञ्चित भएका छन् । सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले निजी शिक्षकले तलब नपाएको भन्दै बन्द गरेको र यसमा गाउँपालिकाले तलब खुवाउन नसक्ने बताए ।

‘उतिबेला गाविस हुँदाखेरी विद्यालय व्यवस्थापन समितिले निजी स्रोतमा भनेर राखेका शिक्षकहरूले तालाबन्दी गरेको खबर आयो,’ उनले भने, ‘उनीहरूलाई गाउँपालिकाले तलब खुवाउने कुनै व्यवस्था नै छैन, बरु केही कार्यक्रम विद्यालयलाई दिएर यस्ता समस्या हल गर्न सकिन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७