प्रदेश सांसदलाई ३३ गुणा महँगो सुनको लोगो


१२ श्रावण २०७६, आईतवार
logogandakii 2872019015232

गण्डकी, १२ साउन । सेवा सुविधामा अत्यधिक वृद्धि गरेको भन्दै आलोचना लागिरहेका बेला गण्डकी प्रदेश सरकारले प्रदेशसभा सदस्यलाई सुनको लोगो वितरण गरेको छ ।

यो लोगो यसअघि वितरण गरिएको भन्दा ३३ गुणा महँगो रहेको छ । चीनको संघाई प्रान्तमा बनाइएको लोगोको मूल्य प्रतिगोटा ६ हजार ५ सय रुपैयाँ रहेको जनाइएको छ ।

लोगोमा धातुको रुपमा चाँदी प्रयोग गरिएको छ भने बाहिरी भागमा सुनको जलप लगाइएको छ । गुणस्तरीय र आकर्षक लोगो बनाउन कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेपछि सुनजडित लोगो बनाएर सांसदहरुलाई वितरण गरिएको हो । यसअघिको प्रतिगोटा लागोको मूल्य १ सय ९५ रुपैयाँ थियो। लोगोमा प्लास्टिक प्रयोग गरिएको थियो ।

सभामुख नेत्रनाथ अधिकारी नेतृत्वको कार्यव्यवस्था परामर्श समितिको सिफारिसमा गठित लोगो तथा पोसाक सिफारिस समितिले गत वर्ष भदौ ३० मा गण्डकी प्रदेशको लोगो सार्वजनिक गरेको थियो । सोही डिजाइनलाई चाँदीमा उतार्ने र बाहिरी कक्षमा सुनको घेरो लगाएर नयाँ लोगो बनाइएको हो ।

सांसदहरुले लगाउँदै आएको लोगो एक वर्ष नपुग्दै खुइलिएपछि गुणस्तरीय र आकर्षक लोगो बनाउन कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको समिति सदस्य तथा सांसद हरिशरण आचार्यले बताएका छन् ।

गत जेठ २० मा तेस्रो पटक संशोधन गरिएको प्रदेशसभा नियमावलीमा नयाँ अनुसूची थपेर लोगो व्यवस्था गरिएको समितिले जनाएको छ । नयाँ लोगोको डिजाइन भने पुरानै छ । प्रदेशसभा सचिवालयका अनुसार लोगोभित्र प्रयोग गरिएको धानको बाला सुनकै छ । खुला प्रतिष्पर्धामा निर्मित लोगोको डिजाइन प्रदेशसभाकै कर्मचारी विनित रानामगरले गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७