संसदीय समितिले सरकारलाई नियन्त्रण होइन निगरानी मात्रै गर्ने : सभामुख

संसदीय समितिले सरकारलाई अप्ठ्यारोमा पारेको प्रधानमन्त्रीको गुनासो


३० भाद्र २०७६, सोमबार
Krishna

काठमाडौं, ३० भदौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकारको कामलाई नियन्त्रण हुने गरी कुनै पनि गतिविधि नगर्न संसदीय समितिहरुलाई सचेत गराएका छन् ।

उनले संसदीय समितिको काम सरकारलाई नियन्त्रण गर्ने नभई निगरानी मात्र गर्ने भएको स्पष्ट पारेका छन् ।

संघीय संसद सचिवालयले सोमबार संसद भवन, नयाँ बानेश्वरमा आयोजना गरेको संसदीय अभ्याससम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले संसदीय समितिहरुले अप्ठयारोमा पार्ने गर्ने गरेको गुनासो प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भनि राख्नु भएको स्मरण गराउँदै त्यसो नगर्न सांसद र संसदीय समितिहरुको गम्भिर ध्यानाकर्षण पनि गराएका छन् ।

‘मलाई प्रधानमन्त्री आफैंले संसदीय समितिहरुले अप्ठयारोमा पार्न थाले भनेर भनि रहनु भएको छ’, सभामुख महराले प्रधानमन्त्रीसँग सो सम्बन्धमा भएको कुराबारे थप स्पष्ट पारे, ‘तर आफूले समितिका सभापतिहरुसँग बसेर कुरा गरौं न त भन्दा तपाई आफैंले कुरा गर्नुस् भन्नु भयो ।’

सभामुख महराले संसदीय समितिहरुले सरकारलाई नियन्त्रण गर्ने होइन्, निगरानी राख्ने मुख्य दायित्व भएको उल्लेख गर्दै सरकारलाई ठिक ट्रयाकमा लैजान संविधान, नियम र कानुन अनुसार आवश्यक सुझाव र सल्लाह दिने काम गर्न गर्नुपर्ने पनि स्पष्ट पारेका छन् ।

सभामुख महराले मन्त्रीहरुसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिइएको भए पनि प्रधानमन्त्रीको स्वास्थ्यका कारण उनसँगको प्रश्नोत्तर कार्यक्रमलाई भने निरन्तरता दिन नसकिएको पनि स्पष्टिकरण दिए । उनले संविधानको अध्ययन गरेर सो अनुसार कानुन, ऐन, निर्देशिका निर्माण भएरनभएको कडा निगरानी राख्न पनि सांसदहरुलाई निर्देशन दिएका छन् ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे, राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालले संसदलाई प्रभावकारी ढंगले अघि बढाउने गरी संसदमा प्रस्तुत हुन सांसदहरुको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७