नेपाली सेनाले विश्व मिलिटरी खेलकुद प्रतियोगिताको १३ खेलमा भाग लिने


१६ आश्विन २०७६, बिहीबार
army

काठमाडौं, १६ असोज । नेपाली सेना चीनको उहानमा यही कात्तिक १ देखि १० गतेसम्म हुने सातौं विश्व मिलिटरी खेलकुद प्रतियोगिता (सिआइएसएम) को १३ खेलमा सहभागी हुने भएको छ ।

इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिलले प्रत्येक चार वर्षमा आयोजना गर्दै आएको यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपल्ट भाग लिन लागेको हो ।

ओलम्पिकपछिको दोस्रो ठूलो खेलकुद प्रतियोगिताकमा विश्वका १०५ मुलुकका १० हजार ७१९ खेलाडीको सहभागी हुँदैछन् । प्रतियोगितामा दुई प्रदर्शनी खेलसहित २७ खेल समावेश छ । प्रतियोगितामा विभिन्न विधा र समूहमा गरी ३२८ वटा प्रतिष्पर्धा हुने जनाइएको छ ।

प्रतियोगितामा नेपालले १३ खेलमा भाग लिने सैनिक मुख्यालयमा जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा सैनिक शारीरिक तालीम तथा खेलकुद केन्द्रका प्रमुख महासेनानी शशीकिरण रायमाझीले जानकारी दिएका छन् ।

नेपालले आर्चरी, ब्याडमिण्टन, बक्सिङ, घोडचडी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्रयाक एण्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती, मोर्डन पेन्टाथलन र सुटिङ खेललाई रोजेको छ । आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्ण पदक विजेता र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई उक्त प्रतियोगिताका लागि सेनाले छनोट गरेको छ ।

प्रतियोगितामा पहिलो पटक भाग लिए पनि अनुभवी खेलाडी भएका कारण निकै राम्रो नतिजाको अपेक्षा गरिएको पनि उनले जानकारी दिएका छन् । प्रतियोगितामा भाग लिने ४० जना खेलाडी र प्रशिक्षकसहितको नेपाली प्रतिनिधिमण्डल असोज २५, २८ र २९ गते त्यसतर्फ प्रस्थान गर्नेछ ।

विशिष्ट पाहुनाको रुपमा उक्त खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सहभागी हुनेछन् । नेपालसहित विश्वका १४० देशका सेनाका सङ्गठन सदस्य रहेको उक्त काउन्सिलमा अमेरिकी महादेशका १९, अफ्रिकी महादेशका ४७, युरोपका ४२ र एशिया महादेशका ३२ मुलुक सदस्य छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७