चिनियाँ राष्ट्रपतिको भ्रमणमा चार वटै सुरक्षा निकायको कडा सुरक्षा

सीको सुरक्षाका लागि सुरक्षाकर्मीको ‘रिहर्सल’ जारी


२४ आश्विन २०७६, शुक्रबार

काठमाडौं, २४ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिवसीय राजकीय भ्रमणको सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ ।

अतिविशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७० अनुसार चार वटा सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको हो ।

आवश्यक तयारीको सिलसिलामा दैनिक सुरक्षा समन्वयात्मक छलफल चलिरहेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति कार्यालयसम्म र बस्ने होटलसम्मको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिएका छन् । सो क्षेत्रमा सुरक्षासहित आवश्यक तयारी स्वरुप ‘रिहर्सल’ समेत भइरहेको उनले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीले यही असोज २५ र २६ गते नेपालको दुई दिवसीय राजकीय भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

उनको सुरक्षामा काठमाडौंको जिल्ला सुरक्षा समितिको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना सहभागी सुरक्षा समन्वय समितिले आन्तरिक सुरक्षाको जिम्मा लिएको छ । नेपाली सेनाका बलाधिकृत रथीको नेतृत्वमा समिति बनाएर सुरक्षाको प्रबन्ध मिलाइएको छ ।

उक्त समितिले विभिन्न चरणमा बैठक बसेर आवश्यक तयारी गरेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । जसले मुख्य सुरक्षाको जिम्मा लिनेछ । काठमाडौंका प्रजिअ दाहालले तोकिएको मापदन्ड र सिद्धान्तअनुसारको सुरक्षाको व्यवस्था मिलाइएको बताए । उनले ललितपुर र भक्तपुरका सुरक्षाकर्मीसँग समेत समन्वयमा तयारी गरिएको बताए ।

राष्ट्रपति सीको भ्रमणका लागि सुरक्षामा नेपाल प्रहरीको तर्फबाट नेतृत्व लिएका प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले अन्तर्राष्ट्रिय विशिष्ट व्यक्ति आउँदा अपनाउने आवश्यक सुरक्षा व्यवस्था सबै अवलम्बन गरिएको जानकारी दिए ।

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीसहितका विशिष्ट पाहुनाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिमण्डलस्तरमा औपचारिक वार्ता गर्नेछन् ।

२३ वर्षपछि हुन लागेको भ्रमणले आपसी मित्रता र सहकार्य थप अभिवृद्धि हुने विश्वास गरिएको छ । महत्वपूर्ण विषयमा सम्झौतासमेत हुने जनाइएको छ । राष्ट्रपति सी सवार हुने सडकहरु नयाँ कालोपत्रसहित चिल्लो बनाइएको तथा ठाउँ ठाउँमा नेपालको प्राकृतिक सुन्दरता झल्कने तस्वीर र ब्यानर राखिएको छ । सम्भावित क्षेत्र र चोकमा नियमित सुरक्षा गस्ती बढाइएको छ ।

ठाउँ ठाउँमा स्वागतद्वार बनाउने, सडक पुनर्निर्माणलाई तीव्रता दिने, पार्क आकर्षित गर्ने फूलका बिरुवा सार्ने तथा रङरोगन गर्ने काम तीव्ररुपमा भइरहको छ । विभिन्न स्थानमा विश्वसम्पदा सूचीमा सूचीकृत र नेपालका मौलिक संस्कृति झल्कने तस्वीरसहितको ‘फ्लेक्स’ बनाएर राखिएको छ । राष्ट्रपति सीलाई नागरिकस्तरबाट समेत भव्य स्वागतको तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७