बलात्कारपछि बेवारिस, फेरि पनि बलात्कार


३० आश्विन २०७६, बिहीबार
Rape for nayapage

भोजपुर, ३० असोज । फुङ्ग उडेको कपाल । जतिखेरै आत्तिइरहे जस्तो अनुहार । पोको पन्तुरो च्यापेर भोजपुर बजार चहारिरहने ३० वर्षीया नरमाया (नाम परिवर्तन) को रात सडकपेटीमै बित्थ्यो । यस्तो बेवारिस जिन्दगी उनको बाध्यता थियो ।

भोजपुरको टेम्केमैयुङ–२ छिनामखुकी उनी १० वर्षकै उमेरमा बलात्कृत भइन् छिमेकी १९ वर्षीय किशोरबाट । बाबु भारतको कोइलाखानीमा काम गर्थे । १५ वर्षपछि त्यहाँबाट फर्किएका उनले कान्छी भित्र्याए ।

छुट्टै बस्न थाले । जेठीपट्टि नरमायासहित दुई छोरा थिए । पारिवारिक अवस्था कमजोर थियो । यसैको फाइदा उठाउँदै घटना गाउँमै सामसुम पारियो । तर, नरमायाप्रतिको सामाजिक दृष्टिकोण कठोर हुँदै गयो । आडभरोसा चाहिएका बेला घरपरिवारको माया र हेरचाह समेत घट्दै गयो । उनले विस्तारै मानसिक सन्तुलन गुमाइन् । घरै छाडेर हिंडिन् । त्यसपछि नै हो, उनको सडकवास भएको ।

६ वर्षअघि २६ वर्षको उमेरमा उनी फेरि बलात्कृत भइन् । भोजपुर सदरमुकामकै पानीट्यांकीस्थित फर्निचर उद्योगमा काम गर्ने युवकले बारीमा लगेर जबरजस्ती करणी गरे । पारालिगल समितिको सहयोगमा जिल्ला प्रहरीमा उजुरी पनि दर्ता भयो । महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष सुशीला तामाङका अनुसार प्रहरीले युवकलाई ६ महिना हिरासतमा राखेको थियो ।

समितिले नरमायाकी आमालाई समेत झिकायो तर उनको सोझोपन र गरिबीको फाइदा उठाउँदै पुनरावेदन गरेका युवकले मुद्दा जिते । त्यसपछि उनी पत्नी र छोराछोरी छाडेर भोजपुरबाटै भागे ।

बलात्कार लगत्तै जाँच नहुँदा प्रमाण नष्ट भइसकेकाले नरमायालाई न्याय दिलाउन नसकिएको त्यति बेला समिति सचिव रहेकी तामाङले बताइन् । बलात्कारको सिकार भएका बेवारिस महिलाहरू न्यायको पहुँचबाट टाढै रहेका घटना अरू पनि छन् । न घर परिवारको साथ छ न राज्यको । उनीहरू पीडा सहेरै बाँचिरहेका छन् ।

‘बेवारिस, अपांग, दलित, जनजाति, पछाडि पारिएका समुदायका महिला हिंसाको सिकार भइरहेका हुन्छन्, जो कमजोर छ उसैमाथि पहुँचवालाको दबदबा छ,’ तामाङले भनिन्, ‘पीडितलाई उजुरी गर्ने पहुँचसमेत हुँदैन, गरिहाले पीडकले राजनीतिक आडमा केस मिलाउँछ ।’

नरमायालाई भोजपुर बहुमुखी क्याम्पसकी शिक्षक सम्झना प्रधानको नेतृत्वमा उद्धार गरेर २०७५ चैत १७ मा मानवसेवा आश्रम हेटौंडामा राखिएको छ । उनीसँगै भोजपुरकै अरुण गाउँपालिका, भीरकोटकी ५० वर्षीया राममाया (नाम परिवर्तन) र भोजपुर नगरपालिकाकी ३३ वर्षीया धनमाया (नाम परिवर्तन)को पनि उद्धार गरिएको छ ।

राममाया पनि पटकपटक बलात्कारमा परेकी छन् । परिवारले सानैमा विवाह गरिदियो । सानै उमेरमा बच्चा जन्मिएपछि उनलाई सम्हाल्नै गाह्रो भयो । त्यही कारण घरपरिवारले हेलाहोचो गर्न थाले । माइतीले उनैकी बहिनी सौता हालिदिए । त्यसपछि माइतमै बस्न थालेकी उनले मानसिक सन्तुलन गुमाउँदै गइन ।

घर छाडेर भोजपुर सदरमुकामका सडकपेटीमा बस्न थालिन् । त्यहींको टक्सारस्थित रेडक्रस भवनको बाहिरपट्टि उनी थुप्रै पटक बलात्कृत भइन् । धनमायाको भोगाइ पनि उस्तै छ । भोजपुर र धनकुटाको सिमाना लेगुवा बजारमा तीन वर्षअघि बलात्कृत भइन् ।

प्रधानका अनुसार बलात्कारबाटै गर्भ बसेकी धनमायाले २०७५ माघ २९ मा छोरी जन्माइन् । सालनाल नझरेपछि भोजपुर अस्पतालमा ल्याएर उपचार गरिएको थियो । उनलाई गत भदौ २१ गते विराटनगरको मानवसेवा आश्रम पुर्‍याइएको छ ।

बेवारिस महिलाहरूको उद्धार भए पनि बलात्कारविरुद्धको कानुनी लडाइँमा उनीहरूको पहुँच नपुगेको प्रधानले बताइन् । ‘भोजपुरकै सबालमा हेर्दा कमजोर महिलाहरू बलात्कार, घरेलु हिंसाकै कारण मानसिक सन्तुलन गुमाउन पुगे,’ उनले भनिन्, ‘त्यसपछि बेवारिस बन्ने र झनै बलात्कृत हुने दयनीय अवस्था छ ।’ सुस्त मनस्थिति भएका, अपांग महिलाहरूको अवस्था झनै कहालीलाग्दो छ ।

केही समयअघि धरानकी सुस्त मनस्थितिकी २२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भयो । मोरङको बेलबारी जाने क्रममा इटहरीमा बसभित्रै बलात्कृत भएकी थिइन् । प्रहरीले घटनामा संलग्न ६ जनामध्ये ४ जनालाई पक्रेको छ । अन्यको खोजी भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी धर्मराज भण्डारीले बताए ।

उनी यसअघि पनि पटक पटक बलात्कृत भइसकेकी थिइन् । गर्भ बस्नबाट जोगाउन अभिभावकले नै उनलाई संगिनी सुई लगाइदिने गरेका रहेछन् । ‘विवाह नभएकी छोरीलाई सुई लगाई दिने रहर कसलाई हुन्छ र ? सधैँ गोठालो लाग्न नभ्याएपछि सुई लगाई दिने गरेका हौं,’ अभिभावकले भने ।

सुकुम्बासी बस्तीभित्र जस्ताले बारेको सानो घरमा युवती र उनकी आमा मात्र बस्छन् । बाबुको केही वर्षअघि नै मृत्यु भइसकेको छ । दाजुभाउजू रोजगारीका क्रममा धरान बाहिर छन् । आमा एक निजी विद्यालयमा सहयोगीका रूपमा काम गर्छिन् । कान्तिपुरबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७