प्रधानमन्त्री ओली खतरामुक्त, उपयुक्त समयमा मिर्गौला पुनः प्रत्यारोपण


१३ मंसिर २०७६, शुक्रबार
pm health

काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी गराएका छन् ।

प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरुले शुक्रबार पत्रकार सम्मेलन गरी स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको र उनी खतरामुक्त रहेको निजी चिकित्सक डा. दिब्या सिंह शाहले जानकारी दिएकी छन् । उनले भनिन्, ‘अहिलेको अवस्थामा उहाँ खतरामुक्त हुनुहुन्छ । भोलि वा पर्सी वा भविश्यको कुरा समयले बताउँछ ।’

चिकित्सकहरुका अनुसार मिर्गौला प्रत्यारोपण गरेका विरामीहरुलाई एपेन्डिसाइटिस हुँदा जति ज्वरो आउनु पर्ने हो नआउने र त्यति दुखाई पनि महसुस हुँदैन । साथै एडेन्डिक्स फुट्दा पेटमा संक्रमण फैलने सम्भावना भने अरुलाई भन्दा बढी हुन्छ ।

उपचारमा संलग्न डा. रमेश सिंह भण्डारीले भने, ‘संक्रमण पेटभरी फैलिएको थियो । ठीक समयमा सबै हेरियो र चाँडै (अप्रेसनको) निर्णय लियौं ।’ प्रधानमन्त्री ओलीको स्वास्थ्य अपेक्षा गरेभन्दा राम्रो सुधार भइरहेको समेत उनले बताए ।

यसैगरी डा. शाहले अप्रेसन गरेको विरामीमा धेरै रक्तस्राव वा संक्रमण नहोस् भनेर प्लेटलेट्स चढाइएको जानकारी गराइन् ।
उपयुक्त समयमा मिर्गौला पुनः प्रत्यारोपण
प्रधानमन्त्री ओलीको करीब १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । पछिल्लो समय मिर्गौलाले राम्रोसँग काम नगरेपछि डायलासिस गर्न थालिएको थियो ।

डा. सिंहका अनुसार एपेन्डिसाइटिसको अप्रेसनका क्रममा पनि दुई पटक डायलासिस गरिएको छ । उनको स्वास्थ्यलाई स्थिर अवस्थामा राख्न यसो गरिएको भन्दै उनले थपिन्, ‘अब स्टेबल भइसकेको छ । चाहिएको बेला मात्र गर्छौं ।’

उनका अनुसार प्रधानमन्त्री ओलीको पुनः मिर्गौला प्रत्यारोपणका लागि पनि तयारी भइरहेको छ । यसबारे अन्तिम निर्णय लिनुपूर्व छलफल भइरहेका बेला एपेन्डिसाइटिसको अपरेशन गर्नु परेको भन्दै उनले भनिन्, ‘नियमित डायलासिस गर्नुपर्ने भयो भने तुरुन्तै गरौंला । नभए अलि समय पछाडि होला ।’ डा. शाहका अनुसार एपेन्डिसाइटिसको उपचार अपेक्षाअनुसार सफल भयो र घाउहरु पुरियो भने छिट्टै पुनः मिर्गौला प्रत्यारोपणमा जाने सम्भावना छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७