अर्थका उपसचिव ढुङ्गानाविरुद्ध साढे चार करोड भ्रष्टाचारको मुद्दा

अवैध आर्जन श्रीमतीको नाममा जम्मा


१८ पुष २०७६, शुक्रबार

काठमाडौं, १८ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुङ्गनाविरुद्ध साढे चार करोड रुपैयाँ भ्रष्टाचारको दावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

२०४९ साउन १९ गते सरकारी सेवामा प्रवेश गरेका उनले २०७५ असार ३२ गतेसम्ममा ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँ ४५ पैसा भ्रष्टाचार गरेको अख्तियारको दावी छ । जागिर अवधिमा उनको वैध आय ७९ लाख ५४ हजार ७९५ रुपैयाँ ८ पैैसा हुनेमा उनको खर्च तथा लगानी ५ करोड ४८ लाख ३ हजार ३५१ रुपैयाँ ५३ पैसा देखिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन् ।

यस आधारमा उनको खर्च र लगानीमध्ये चार करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ ४५ पैसाको स्रोत खुल्न नआएकाले गैरकानूनी देखिएको अख्तियारले जनाएको छ । ढुङ्गानाले अवैध आर्जनबाट श्रीमती मधु कोइराला ढुङ्गानाको नाममा सम्पत्ति आर्जन गरेको देखिएकाले श्रीमतीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

अख्तियारले ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँ ४५ पैसा विगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा ३ तथा दफा २९ (२), भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० (२) बमोजिम जरिवाना र कैद माग दावी गरेको छ । त्यस्तै गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति जफत गर्न पनि माग गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७