यी हुन् हराएका वहुमूल्य सामान पनि सजिलै भेटिने इमान्दार देश


७ माघ २०७६, मंगलवार
japan 43 1475639869

काठमाडौं, ७ माघ । अधिकांश मानिसले पैसा, कार्ड, चाबी लगायत अति जरुरी सामान वालेटमा राखेका हुन्छन् भने सबैको दैनिकीमा फोनको महत्व पनि उत्तिकै हुन्छ । त्यसैले यस्ता सामान हराउनु नोक्सानका साथै धेरै झन्झटपूर्ण पनि हुन्छ ।

तर जापानको राजधानी टोकियोमा जतिसुकै मूल्यवान् वस्तु हराए पनि ९० प्रतिशत अवस्थामा फिर्ता पाइने सम्भावना हुन्छ । सांस्कृतिक मान्यता, जटिल धार्मिक प्रभाव र मैत्रीपूर्ण पुलिस अधिकारीहरुका कारण जापानमा महत्वपूर्ण सामान हराउनुलाई समेत ठूलो रुपमा लिइँदैन ।

१ करोड ४० लाख जनसङ्ख्या बसोबास गर्ने टोकियो शहरमा हरेक वर्ष लाखौं सामानहरु हराउँछन् तर त्यतिनै भेटिन्छन् पनि । २०१८ मा टोकियो पुलिसले ५ लाख ४५ हजार भन्दा धेरै आइडीकार्ड फिर्ता गरेका थिए भने १ लाख तीसहजार मोबाइल फोन अनि २ लाख ४० हजार वालेट पनि फिर्ता गरिएको थियो । यसरी प्रायः अवस्थामा सामानहरु हराएकै दिन फिर्ता गरिएको हो ।

यसबारेमा एक प्रसिद्ध इन्स्च्युटका साइकोलोजिस्ट काजुको बेहेर्नस भन्छन्, “मलाई स्यान फ्रान्सिस्कोमा बस्दाको एउटा समाचार याद छ । जब चाइना टाउनमा एकजनाको वालेट हराउँदा पुलिसमार्फत् अर्का एक व्यक्तिले फिर्ता गरेका थिए । त्यो घटना यति दुर्लभ थियो कि सो व्यक्तिलाई इमान्दार हिरोको नाम दिइ अन्तर्वार्तासमेत लिइएको थियो । तर जापानमा यस्ता घटना दिनहुँ भइरहन्छन् । हराएको सामान तत्कालै पुलिसकहाँ बुझाउनु यहाँको सामान्य रिति हो ।”

यसरी जापानमा बरु भेटाएको सामान फिर्ता नगर्नु दुर्लभ मानिने गरेको उनी बताउँछन् । राजधानी टोकियोमा ‘कोबान’ नामक ससाना पुलिस स्टेसन प्रत्येक सय वर्ग किलोमिटरमा ९७ वटासम्म स्थापित गरिएका छन् जसको छबि दुनियाँका बाँकी सबै पुलिसको भन्दा धेरै फरक छ ।
लन्डनको कुरा गर्नुपर्दा त्यहाँ प्रत्येक १०० वर्ग किलोमिटरमा ११ वटा पुलिस स्टेसन मात्र छन् अर्थात् मद्दत आवश्यक परेमा पुलिस स्टेसन भेटिन धेरै गाह्रो पर्छ ।

यसरी कोबानमा तैनाथ सबै पुलिस अधिकारीहरु अत्यन्तै नम्र स्वभावका लागि प्रख्यात मानिन्छन् जसले दुर्व्यवहार गर्ने युवाहरुलाई गाली गर्नेदेखि बूढाबूढीलाई सडक पार गर्नलगायत सामान्य कुरामा पनि मद्दत गरिरहेका हुन्छन् ।

साथै उनीहरुले छिमेकका जेष्ठ नागरिकहरु आफ्नो गन्तव्यमा सही सलामत पुगेको निश्चित गर्न अर्को पुलिस स्टेसनसँग सम्पर्कमा रहने गर्छन् । यस्तोमा जापानमा सबै बालबालिकाहरुलाई सानै उमेरदेखि जति सुकै मूल्यवान् वस्तु वा दश येनको सिक्का नै भएपनि भेटाएका सामग्री कोबान अधिकारीकहाँ बुझाउन सिकाइएको हुन्छ ।

यसमा सिक्का दाबी गर्न कोही नआएमा त्यो बालकलाई उपहार स्वरुप दिइनेछ भनेर सिकाइन्छ । यसअघि टोकियो र न्यूयोर्कबीच तुलना गर्दा अनुसन्धानकर्ताहरुको ८८ प्रतिशत फोन टोकियोमा फिर्ता गरिएको थियो भने न्युयोर्कमा चाहिँ ८ प्रतिशत मात्र फेरि प्राप्त गरिएको हो ।

त्यस्तै वालेट पनि टोकियोमा ८० प्रतिशत फिर्ता दिइयो जबकि न्युयोर्कमा केबल १० प्रतिशत मात्र भेटाउन सकिएको हो । अर्कोतर्फ टोकियोमै हराएको छाता चाहिँ अत्यन्तै कम भेटिने गरेको छ । कसैले दाबी नगरेमा पुलिसले पानीमा फसेका मानिसहरुलाई दिने गरेका छन् जसको मूल्य ५०० येनसम्म पर्छ ।

इमानदारीता र जापानबीच वास्तवमा धेरै पुरानो इतिहास रहेको बताइएको छ । जस्तै १०–२० वर्ष अगाडिसम्म कुनै पनि डाक्टरले गम्भीर रोग लागेको पत्ता लागेमा त्यसबारेमा बिरामीलाई केही नभन्ने गरेका थिए र परिवारलाई मात्र खबर गरिन्थ्यो ।

बिरामीले आफ्नो रोगबारे थाहा पाएमा उनीहरुको जिउन कम प्रेरित हुन्छन् भन्ने मान्यता व्याप्त रहेकाले नै जापानमा यस्तो संस्कृति रहँदै आएको थियो तर पछिल्ला केही वर्षहरुमा यो रिति बदलिँदै गएको पाइएको छ ।

त्यस्तै अर्को उदाहरण भनेको २०११ को महा सुनामीमा धेरै मानिसहरु घरबार विहीन भएका थिए जोसँग पिउने पानी समेत थिएन । तर त्यो अवस्थामा पनि मानिसहरुले आफूलाई भन्दा अरुलाई प्राथमिकता दिइरहेको पाइएको थियो ।

यसलाई धार्मिक मान्यतासँग पनि जोडिएको छ । त्यसबेला प्रभावित क्षेत्रमा लुटपाट र चोरीका घटना विश्वका अन्य दुर्घटनास्थल भन्दा उल्लेखनीय रुपमा कम रहेको समाचार पनि चर्चामा आएको थियो । जापानमा चोरी र लुटपाट क्यारेक्टर भन्दा बाहिरको कुरा भएको तमुरा बताउँछन् ।

उनका अनुसार जापानमा सबैमा समाजको आँखाको डर हुन्छ । त्यसकारण पनि कोही न कोहीले थाहा पाउने वा कसैले त हेरिरहेको छ भन्ने मानसिकताले पनि मानिसहरु अपराध गर्नबाट पछि हट्ने उनको भनाइ छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७