बेनी नगरपालिकाका वडाध्यक्ष श्रीमतीसहित बेलायत ‘भासिए’


२० माघ २०७६, सोमबार
Ward Chairman RIM Roka 20200203102355

काठमाडौंं, २० माघ । गोष्ठीमा सहभागी हुन अमेरिका पुगेकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) उतै लुकेको कुराको चर्चा सेलाउन नपाउँदै म्याग्दीका एक वडाध्यक्ष श्रीमतीसहित बेलायत भासिएका छन् ।

दुई वर्षअघि बेलायत गएका म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतका वडा अध्यक्ष रिम रोका आफू फर्किनुको सट्टा सपरिवार बेलायत भासिएका हुन् । गत मंसिरमा १०÷१२ दिनका लागि नेपाल आएका रोका अब चाँहि गाउँमै बस्छन् कि भन्ने स्थानीय नागरिकले आश गरिरहेका बेला श्रीमती समेत लिएर बेलायत फर्केका हुन् ।

रोकाको अनुपस्थितिमा कार्यवाहकको जिम्मेवारी सम्हाल्दै आएका वडा सदस्य लोकबहादुर पुनले भने, ‘मंसिरमा वडाध्यक्ष आउनु भएको थियो, १०–१२ दिन बसेर श्रीमतीलाई समेत लिएर फर्किनु भयो ।’

गत वर्ष मंसिरमा आएका बेला रोका हिउँदे नगरसभामा सहभागी भएको तर, यसपालि भने वडा र नगरपालिकाको कुनै पनि कार्यक्रममा सहभागी नभई फर्किएको पुनले जानकारी दिए । लामो समयदेखि वडाध्यक्ष नहुँदा वडाको सेवा प्रवाहमा विभिन्न समस्या आउने गरेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय वडाध्यक्षले पालना गर्नुपर्ने व्यवस्थाहरु स्पष्ट रुपमा किटान गरिएको भए पनि रोका लामो समयदेखि यी व्यवस्थाको पलना नगरी विदेशमा बसिरहेका छन् । लामो समयदेखि वडाध्यक्ष नहुँदा विकास योजना तर्जुमा, कार्यान्वयन, सिफारिस र अन्य सेवा प्रवाहमा असर परेको स्थानीयबासी बताउँछन् ।

स्थानीय तहको निर्वाचन जितेको करीब आठ ८ महिना जति मात्रै रोकाले वडामा बसेर काम गरेको स्थानीय बताउँछन् । वडा सदस्य पुन भन्छन्, ‘वडाध्यक्ष नहुँदा महत्वपूर्ण निर्णय लिन अलि अप्ठ्यारो हुन्छ । वडाध्यक्ष र कार्यवाहकको अधिकार फरक हुँदा काम गर्न समस्या पर्छ ।’

स्थानीय तह चुनावमा निर्वाचित वडा सदस्यमध्ये धेरै मत पाएको आधारमा वडा समितिले पुनलाई कार्यवाहकको जिम्मेवारी दिने निर्णय गरेको थियो । उनले २०७४ पुसदेखि कार्यवाहकको जिम्मेवारी सम्हाल्दै आएका छन् । रोकाका परिवारका सदस्य बेलायतमा बसोबास गर्छन् । उनी स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट ४५० मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७