आनको अध्यक्षमा रबिन्दकुमार रिजाल
काठमाण्डौं : नेपाल विज्ञापन संघ (आन) को अध्यक्षमा रबिन्दकुमार रिजाल चयन भएका छन् । आगामि ३ बर्षे कार्यकालका लागि अध्यक्षमा रिजाल सहित बरिष्ठ उपाध्यक्षमा सोमप्रसाद धिताल, प्रथम उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, द्धितिय उपाध्यक्षमा धर्मेन्द्रकाजी श्रेष्ठ, महासचिबमा राजु कुइँकेल, सचिबमा कृष्णप्रसाद घिमिरे र सहकोषाध्यक्षमा पंकज प्रधानलाई सर्बसम्मतिले चयन गरिएको हो ।
यस्तै, ६ जना महाससमिति सदस्यहरुमा रोधन प्रसाई, रमेश पुरी, विशालपुरुष ढकाल, अरुणकाजी स्थापित, किरण गैरे र सन्तोष खड्का चयन हुनु भएको छ । कोषाध्यक्षमा दुई जनाको दाबी भएपछि सहमतिको प्रयास भैरहेको बताईको छ । यसको औपचारीक घोषणा भने भोली हुने १८ औ वार्षीक साधारण सभाबाट गरीनेछ ।
साधारण सभाको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा संघका पूर्व अध्यक्ष भाष्करराज राज कर्णीकारले भोली चयन हुने नयाँ नेतृत्वलाई प्रादेशिक संरचनानुसार बिद्यान संशोधन गर्न सुझाब दिए। सर्वसम्मत अध्यक्ष भएका रिजालले आफ्नो कार्यकालमा ३ महिनाभित्रमा बिशेष साधारण सभा बोलाउने, संघमा बिशेष समिती बनाएर सबैलाई समेट्ने, अन्तराष्ट्रिय स्तरका तालिम सञ्चालन गर्ने, बिदेशी कार्यक्रम नेपालमा ल्याउने र संघको आफ्नै भवन ३ बर्षभित्रमा निमार्ण गर्ने बताए । उनले बिज्ञापन पढाउने कलेजहरुसंग समन्वय गर्ने र हरेक बर्ष कणार्ली र तराईका १० देखि १५ जनासम्म गरिब बिद्यार्थी आनले नै पढाउने बताए । संघका निबर्तमान अध्यक्ष सन्तोष श्रेष्ठले नयाँ नेतृत्वले सबैको अपेक्षानुसारको काम गर्न सफल हुने विश्वास ब्यक्त गरे ।