सरकारले अनिश्चितकालका लागि रोक्यो श्रम स्वीकृति, औपचारिक निर्णय आज


३० फाल्गुन २०७६, शुक्रबार
sharm mantralaya

काठमाडौं, ३० फागुन । सरकारले वैदेशिक रोजगारीका लागि दिंदै आएको श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित गर्ने भएको छ ।

विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेपछि बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले अनिश्चितकालका लागि श्रम स्वीकृति रोक्न श्रम मन्त्रालयलाई निर्देशन दिएको हो ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्देशन गरेको हो । आज (शुक्रबार) यस विषयमा औपचारिक निर्णय हुने श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ ।

‘श्रम स्वीकृति नदिने निर्णय भइसकेको छैन,’ श्रममन्त्री रामेश्वर राय यादव भन्छन्, ‘यस विषयमा आज औपचारिक निर्णय गर्छौं । उच्चस्तरीय समितिले हिजो श्रम स्वीकृति रोक्न भनेको छ । मन्त्रालयले यस विषयमा आज औपाचारिक निर्णय गर्छ ।’

यसअघि नेपाल सरकारले दक्षिण कोरियामा मात्र मार्च महिनाभरका लागि कामदारहरु नपठाउने निर्णय गरेको थियो । नेपालीका श्रम गन्तव्य मुलुकहरुसमेत कोरोना भाइरसबाट आक्रान्त भएपछि नेपाल सरकारले श्रम स्वीकृति रोक्ने निर्णय गरेको हो ।

संक्रमित बढ्दै गएपछि कोरिया र कतारले विदेशी नागरिकहरुलाई प्रवेशमा रोक लगाइसकेका छन् भने कुवेतले सबै उडानहरु रोकेपछि स्वतः अन्य मुलुकका नागरिक भित्रिन पाएका छैनन् ।

विदेशमा रहेका नेपालीहरुलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई पनि ३० अप्रिल अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने निर्णय सरकारले गरेको छ ।

त्यसैगरी विदेशीहरुलाई दिइँदै आएको अनअराइभल भिसा १४ मार्च २०२० देखि ३० अप्रिल २०२० सम्मका लागि स्थगित गर्ने निर्णय गरिसकेको छ ।

यसअघि नै भिसा लिइसकेका विदेशी नागरिकले भने नेपालको अध्यागमन विन्दुमा आईपुग्ने मितिभन्दा सात दिनभित्रको स्वास्थ्य जाँच रिपोर्ट अध्यागमन कार्यालयमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७