विदेशबाट फर्किएकाको स्थानीय तहमा अभिलेखीकरण शुरु


१६ चैत्र २०७६, आईतवार
Corona data collection2020 03 29 06 45 03

काठमाडौं, १६ चैत । कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएयता भारत र तेस्रो मुलुकबाट स्वदेश फर्किएका व्यक्तिहरूको अभिलेखीकरण शुरु भएको छ । देशभरका स्थानीय तह र वडा कार्यालयले नेपाल फर्किएकाहरूको वैयक्तिक विवरण र स्वास्थ्य अवस्थाबारे सूचना संकलन गर्न थालेका हुन् ।

नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले आ–आफ्नो क्षेत्रभित्रमा तेस्रो मुलुक र भारतबाट आएका व्यक्तिको स्वास्थ्यसम्बन्धी विवरणसहितको अभिलेख प्रत्येक दिन अद्यावधिक गर्न स्थानीय तहलाई निर्देशन दिएको थियो ।

सोही निर्देशनबमोजिम सबै स्थानीय तहले वडा कार्यालयमार्फत विवरण संकलन गर्न थालेका हुन् । निर्देशन बमोजिम स्थानीय तहले विदेशबाट फर्किएकाहरूको विवरण र स्वास्थ्य अवस्थाबारे जानकारी संकलन शुरु गरेको नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जुले बताए ।

‘कोरोना प्रकोप रोकथाम गर्न अहिले सबै स्थानीय तहको ध्यान केन्द्रित गरेका छौँ, आफ्नो क्षेत्रमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सचेतना, उपभोग्य वस्तुको सहज आपूर्ति र वितरण, मास्क, स्यानिटाइजर र साबुन वितरणलगायत गतिविधि भइरहेका छन्,’ उनले भने ।

उच्चस्तरीय समितिको निर्णयबमोजिम स्थानीय तहले आफ्नो सामथ्र्यका आधारमा क्वारेन्टाइनको समेत व्यवस्थापन गरिरहेको ब्याञ्जुले जानकारी दिए । कतिपय स्थानीय तहले टोलटोलसम्मै पुगेर विवरण संकलन थालेका छन् भने कतिपयले अनलाइन फारममार्फत विवरण पठाउन सूचित गरेका छन् ।

स्थानीय तहले वडामा आफ्नो क्षेत्रका जनप्रतिनिधि र कर्मचारीमार्फत त्यस्ता व्यक्तिको विवरण अन्य सर्वसाधारणले समेत उपलब्ध गराइदिन र कोरोना रोकथाम तथा नियन्त्रणमा सघाउन आग्रह गरेका छन् । देशभरका दुई सय ९३ नगरपालिकामध्ये एक सय ७६ वटा नगरपालिकामा मात्रै अस्पताल छन् । ती अस्पतालको क्षमता हेरी आइसियू र आइसोलेसन वार्ड बनाएको संघले जनाएको छ ।

यस्तै, सबै स्थानीय तहमा नियमित हेल्थ डेस्क सञ्चालन, पर्चा पम्प्लेट वितरण र निःशुल्क स्वास्थ्य परीक्षणसमेत भइरहेको छ । स्वास्थ्य मन्त्रालयको निर्देशनबमोजिम कोरोना संक्रमण भित्रन र फैलिन नदिन तथा शंकास्पद व्यक्तिको निगरानी र उपचारका लागि स्थानीय तह र वडास्तरमा स्थानीय समन्वय समिति गठन भएका छन् ।

संघले नगरपालिकाको विपद् व्यवस्थापन कोष र नगरपालिकाको कोषबाट आवश्यक बजेट व्यवस्था गरी आइसोलेसन वार्ड, हेल्थ डेस्क स्थापना, मास्क, स्यानिटाइजर, स्वास्थ्य परीक्षण, परामर्श, स्वास्थ्यकर्मीलाई तालिम र आवश्यक उपकरणसमेत व्यवस्था गर्न सर्कुलर गरेको छ ।

काठमाडौंमा १ मार्चबाटै विवरण संकलन

संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकाले भने १ मार्चदेखि विदेशबाट फर्किएकाहरूको विवरण संकलन गर्न सुरु गरेको छ । महानगरले ३२ वटै वडा कार्यालयलाई पत्राचार गरी विदेशबाट फर्किएकाहरूको विवरण संकलन गरी पठाउन पत्राचार गरेको छ ।

मेयर विद्यासुन्दर शाक्यको निर्देशनबमोजिम काम वा भ्रमणको सिलसिलामा १ मार्चदेखि अहिलेसम्म भारत वा तेस्रो मुलुकबाट फर्किएकाहरूको स्वास्थ्य विवरण संकलन गरी पठाउन पत्राचार गरिएको प्रशासन विभागका प्रमुख नमराज ढकालले जानकारी दिए ।

महानगरले सरकारले लकडाउन गरेपछि सर्वसाधारणको जीवनयापन असहज बनेको भन्दै वडास्तरमा व्यवस्थापनमा सक्रिय हुन समेत वडालाई निर्देशन दिएको छ ।

महानगरले फोहोरमैला व्यवस्थापन कार्य प्रभावकारी ढंगबाट सञ्चालन गर्न, वडा क्षेत्रमा रहेका खाद्य पदार्थको पसल नियमित सञ्चालन गर्ने–गराउने र सकेसम्म घरघरमै सामान आपूर्ति गर्ने व्यवस्था मिलाउन, वडामा दैनिक ज्यालादारी, मजदुरी गर्ने तथा सडकमा बस्ने घरबारविहीन मानिसलाई लक्षित गरी राहतसमेत उपलब्ध गराउन पत्राचार गरेको छ ।

महानगरले ६ महिनादेखि महानगरभित्र बसेर मजदुरी गरिरहेकाहरूको विवरण संकलन गरी पठाउन समेत वडालाई निर्देशन दिएको छ । महानगरपालिकाले १० करोड रुपैयाँको आपत्कालीन कोष खडा गरी कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न कार्य गर्दै आएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७