लकडाउनमा प्रहरीलाई दैनिक १३ हजार फोन, ६ दिनमा २८ सय पक्राउ


१७ चैत्र २०७६, सोमबार
lock down 2

काठमाडौं, १७ चैत । कोरोना र लकडाउनसम्बन्धी जिज्ञासाले प्रहरीको हटलाइन दिनभर व्यस्त हुन थालेको छ । लकडाउनपछि हटलाइनमा दैनिक १३ हजार फोन आउने गरेका छन् ।

नियमित अवस्थामा भन्दा लकडाउनपछि प्रहरीको हटलाइन १०० मा अत्यधिक फोन आउने गरेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार देशभरि १३ हजारभन्दा धेरै फोन आएका थिए । लकडाउन कहिले खुल्छ, बेलुका निस्कन पाइन्छ कि पाइँदैन, सामान किन्न जान के गर्नेजस्ता जिज्ञासा धेरै हुने गरेका छन् ।

त्यस्तै, कतिपयले आफूलाई ज्वरो आएकाले कोरोनासम्बन्धी परीक्षण गर्नुपर्नेरनपर्ने सोधेका थिए । कतिपयले ग्यास तथा खाद्यान्न अभावसम्बन्धी जिज्ञासा राख्ने गरेका छन् । केहीले कतै भिड भइरहेको सूचनासमेत प्रहरीलाई दिने गरेका छन् । प्रहरीले सर्वसाधारणका हरेक जिज्ञासाको जवाफ दिई उनीहरूको समस्याको सहजीकरण गर्दै आएको प्रवक्ता उमेशराज जोशीले बताए ।

प्रहरीका तीन अनुरोध

लकडाउनको अवस्थामा प्रहरीले सर्वसाधारणलाई तीन अनुरोध गरेको छ । लकडाउनको अवस्थामा घरबाट बाहिर ननिस्कन भनेको छ । ‘अहिलेको अवस्थामा घरबाट ननिस्कनु नै सबैभन्दा ठूलो सहयोग हो,’ एसएसपी जोशी भन्छन्, ‘सर्वसाधारणकै स्वास्थ्यको सुरक्षाका लागि यो नियम लागू गरिएको भन्ने बुझ्नुपर्छ ।’

त्यस्तै, विदेशबाट आएका र संक्रमित बिरामीसँग भेटघाट भएका व्यक्तिलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्न प्रहरीले आग्रह गरेको छ । त्यस्ता व्यक्तिबारे सूचना दिन समेत भनिएको छ । ‘कुनै समस्या भएमा प्रहरीको हटलाइनमा फोन गर्नसमेत आग्रह गर्दछौँ,’ एसएसपी जोशीले भने ।

६ दिनमा २८ सय पक्राउ

लकडाउनको ६ दिनमा प्रहरीले दुई हजार आठ सय ९१ जनालाई पक्राउ गरेको छ । यो अवधिमा १० हजार ९७ सवारीसाधन नियन्त्रणमा लिइएको प्रवक्ता जोशीले बताए । पक्राउ परेकालाई प्रहरीले केही समय थुनामा राखेर छाड्ने गरेको छ । आइतबारदेखि सडकमै केही घन्टा होल्डमा राखेर छाड्ने गरिएको छ । हिरासतमा राख्दा जोखिम हुने भएकाले यसरी केही घन्टा होल्ड गर्न थालिएको प्रहरीले जनाएको छ ।

१८ हजार सशस्त्र प्रहरी फिल्डमा

कोरोना भाइरसको संक्रमणबाट सिर्जित विषम परिस्थितिमा आफ्नो आधा जनशक्ति फिल्डमा खटिएको सशस्त्र प्रहरीले जनाएको छ । सीमा क्षेत्रमा निगरानीदेखि लकडाउन कार्यान्वयनसम्मको जिम्मेवारी सशस्त्र प्रहरीमाथि छ ।

अहिलेको परिस्थितिमा द्विविधारहित ढंगले परिचालित भई जनतालाई प्रत्यक्ष सेवा, सुरक्षा, सहयोग तथा आपत्विपत्मा परेकाको उद्धारमा सक्रिय रहन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले शनिबार सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका थिए ।

जिम्मेवारीका क्षेत्रमा उत्कृष्ट कार्यसम्पादनका लागि निर्देशन एवं परिपत्रका माध्यमबाट सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई स्पष्ट निर्देशन दिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

‘लकडाउन’ मा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै सशस्त्र प्रहरीले स्थानीयस्तरमा समेत जनचेतना अभिवृद्धि गर्न माइकिङलगायत विभिन्न प्रयास गरिरहेको जनाएको छ । सशस्त्र प्रहरीको टोलीले देशका विभिन्न एक सय ६१ स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ । जसमा कुल पाँच सय ३० सशस्त्र प्रहरी कर्मचारी खटिएका छन् ।

कहाँ कति खटिएका छन् जनशक्ति ?

सशस्त्र प्रहरी टोली सीमानाका सुरक्षा, क्वारेन्टाइन सुरक्षा, हेल्थ डेस्कलगायत ‘इमिडियट रेस्पोन्स टिम’, चेक प्वाइन्ट, पिकेट, पैदल गस्ती, मोबाइल गस्ती, ‘क्विक रियाक्सन टिम’लगायत ड्युटीमा परिचालित छन् ।

यसैगरी, हरेक एपिएफ एकाइमा विपत्का वेला उद्धार कार्यका लागि एपिएफ टोली उच्च सतर्कतामा राखिएको छ । यसका लागि विभिन्न ८१ स्थानमा एक हजार ६२ जना सशस्त्र प्रहरी कर्मचारी खटिएको प्रवक्ता प्रवीणकुमार श्रेष्ठले बताए ।

देशका विभिन्न १२ स्थानमा एम्बुलेन्स तथा स्वास्थ्यकर्मीसहित एपिएफ टोली परिचालित छन् । विभिन्न पाँच सय तीन सीमानाकामा दुई हजार पाँच सय ४५ सशस्त्र प्रहरी कर्मचारी सुरक्षार्थ तैनाथ गर्नुका साथै ७० ‘इमिडियट रेस्पोन्स टिम’मा ६ सय ४१ सशस्त्र प्रहरी कर्मचारी खटिएका छन् ।

सशस्त्र प्रहरी बलले ३८ स्थानमा रहेको ‘क्विक रियाक्सन टिम’मा ६ सय १७ जना परिचालन गरेको जनाएको छ । विभिन्न ठाउँमा तीन सय ७४ चेक प्वाइन्टमा दुई हजार १७ जना परिचालन गरेको सशस्त्र प्रहरी बलले तीन सय २६ मोबाइल गस्तीमा दुई हजार तीन सय २१ जना तथा चार सय ९१ पैदल गस्तीमा तीन हजार ६ सय ७१ जना परिचालन गरेको छ ।

सशस्त्र प्रहरी बलले कोरोना भाइरसबाट जोगिन आफ्ना सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई सचेत गराउनुका साथै उनीहरूमार्फत घरपरिवार तथा छरछिमेकमा समेत सचेतना गराउने प्रयास गरेको जनाएको छ ।

ब्यारेकमा थर्मल गनबाट तापक्रम नाप्ने, स्यानिटाइजरको प्रयोग गर्ने, साबुनपानीले हात धुनेजस्ता कार्य गर्दै आएको तथा कुनै सशस्त्र प्रहरी कर्मचारीमा कुनै लक्षण देखिएमा तत्काल क्वारेन्टाइनमा राख्न सशस्त्र प्रहरी बलको हरेक ब्यारेकमा त्यससम्बन्धी व्यवस्था मिलाइएको छ ।

‘कुनै पनि सशस्त्र प्रहरी कर्मचारीमा हालसम्म कुनै लक्षण देखिएको छैन, सशस्त्र प्रहरी कर्मचारी आफू जोगिँदै हरेक ड्युटीमा उच्च मनोबलका साथ क्रियाशील छन्,’ सशस्त्र प्रहरी बलका प्रवक्ता श्रेष्ठले भने । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७