निर्मलीकरणपछि विद्युतीय शवदाह गृह सञ्चालन गरिंदै


१७ जेष्ठ २०७७, शनिबार
Bidhutiya Sab daha griha

काठमाडौं, १७ जेठ । पशुपतिस्थित विद्युतीय शवदाह गृह आज दिउँसोदेखि सञ्चालनमा ल्याउने तयारी भएको छ ।

कोरोना भाइरसबाट सङ्क्रमित भई निधन भएका ललितपुर बुङ्मतीका पुरुषको गत बिहीबार शवदाह गरेपछि बन्द गरिएको शवदाह गृहलाई निर्मलीकरण गरी आज दिउँसोदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोरोना सङ्क्रमित भई निधन भएका पाँचौं व्यक्ति बुङ्मतीका पुरुषको शवदाह गरिएपछि ३६ घण्टाभन्दा बढी निर्मलीकरण गरेर आज दिउँसो १ बजेदेखि सञ्चालनमा ल्याउने तयारी भएको पशुपति क्षेत्र विकास कोषका निर्देशक राजु रेग्मीले जानकारी दिए ।

शवदाहमा संलग्न दुई कर्मचारीलाई शवदाह गृहमै क्वारेन्टिनमा राखी दुई पटक आरडिटी परीक्षण गर्दा समेत प्रतिवेदन नेगेटिभ आएको उनले बताए । दुवै कर्मचारीलाई आज बिहान क्रियापुत्री घरको क्वारेन्टिनमा राखी विद्युतीय शवदाह गृहलाई पुनः निर्मलीकरण गरेपछि सञ्चालनमा ल्याइनेछ ।

शवदाहमा संलग्न कर्मचारीको सातौं दिन पिसीआर विधिबाट पुनः परीक्षण गरिने कोषले जनाएको छ । हाल पशुपति क्षेत्रस्थित क्रियापुत्री घर पनि सञ्चालनमा रहेको छ । क्रियापुत्री घरका पाँच कोठा भने क्वारेन्टिनका लागि राखिएको छ ।

पशुपतिमा क्रियापुत्री सेवाका लागि ४२ कोठा उपलब्ध छ । शवदाह गृह सञ्चालनमा नआउँदा सर्वसाधरण नागरिकले समस्या भोग्दै आएका छन् । कोरोनाको वहानामा शवदाह गृह बन्द गरिएको भन्दै आलोचना समेत भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७