प्रदेश-२ मा राज्यमन्त्रीको स्वकीय सचिव र पाँच मर्यादा पालकलाई कोरोना


२२ जेष्ठ २०७७, बिहीबार
pradesh 2

धनुषा, २२ जेठ । प्रदेश–२ मा राज्यमन्त्रीको स्वकीय सचिव र पाँच मर्यादा पालकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश–२ की आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवको स्वकीय सचिवमा कोरोना संक्रमण फेला परेको हो । राज्यमन्त्री यादवको स्वकीय सचिवमा कोरोना संक्रमण देखिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पुष्टि गरेका छन् ।

प्रदेश–२ को प्रदेश सभाको बैठक सञ्चालनअघि प्रदेशका मन्त्री, सांसद, उनीहरुका स्वकीय सचिव, कर्मचारी र मर्यादापालकहरुको स्वाब संकलन गरी जाँच गरिएको थियो । रिपोर्ट आएकामध्ये ५ जना मर्यादापालक (प्रहरी) र मन्त्रीका स्वकीय सचिवसहित ६ जनाको पोजेटिभ देखिएको छ ।

आफ्नो स्वकीय सचिवमा कोरोनासम्बन्धी कुनै लक्षण नदेखिए पनि रिपोर्ट पोजेटिभ आएको राज्यमन्त्री यादवले जानकारी गराएकी छिन्् । उनलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको उनले बताएकी छिन् ।

मर्यादापालकमा संक्रमण पुष्टि भएपछि बिहीबार ३ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक स्थगित गरिएको छ । बैठक स्थगित गरी प्रदेश सभालाई स्यानिटाइज गर्ने काम भइरहेको र शुक्रबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७