प्रिमियर लिगका हरेक खेलमा पाँच जनासम्म खेलाडी परिवर्तन गर्न पाइने
काठमाडौं, २३ जेठ । कोरोना भाइरसको कारण तीन महिनादेखि रोकिएको इङलिस प्रिमियर लिग फुटबलका खेलहरु सुचालु गरिँदा केही नियम परिवर्तन गरिने भएको छ ।
संक्रमणको सम्भावना कम गर्न हरेक खेलमा ५ जनासम्म खेलाडी परिवर्तन (सब्सटिच्युट) गर्न पाइने छ । प्रिमियर लिगका २० वटा क्लबहरुको हिजो बसेको बैठकले ५ खेलाडी परिवर्तन गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।
कोरोनाले लामो समय मैदान बाहिर रहेका खेलाडीलाई पुनः मैदान फर्कदा कठिन हुने भएकोले प्रिमियर लिगले खेलाडी परिवर्तनको संख्या बढाएको हो । यसअघि एउटा खेलमा ३ जना खेलाडी मात्रै परिवर्तन गर्न पाइन्थ्यो । खेलाडी परिवर्तनको संख्या बढाएपछि बेन्चमा राखिने खेलाडीहरुको सूची पनि ७ बाट बढाएर ९ पुर्याइएको छ ।
इङलिस प्रिमियर लिगका बाँकी खेल यही जुन १७ तारिखबाट शुरु हुँदैछ । सिजनका कुल ९२ खेल खेल्न बाँकी रहेको छ । तालिकामा शिर्ष स्थानको लिभरपुलले दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँग २५ अंकको अग्रतता लिइरहेको छ । अब दुई खेल जितेको खण्डमा लिभरपुल च्याम्पियन बन्नेछ ।