रियल म्याड्रिडलाई हराउँदै म्यानचेस्टर सिटी च्याम्पियन्स लिग क्वार्टर फाइनलमा
काठमाडौं, २४ साउन । म्यानचेस्टर सिटीले विपक्षी डिफेन्डर राफेल भरानको दुई भुलको फाइदा उठाउँदै शुक्रबार रियल म्याड्रिडलाई २–१ ले हराएर युरोपेली च्याम्पियन्स लिगको क्वार्टर फाइनल प्रवेश गरेको छ ।
पेप ग्वार्डिओला र जिनेदिन जिदानबीचको प्रतिष्ठाको लडाईं मानिएको अन्तिम १६ को दोस्रो लेग पनि जितेर सिटी व्यवस्थापक अब्बल साबित भए । फ्रान्सेली जिदान च्याम्पियन्स लिगको नकआउट चरणबाट प्रशिक्षकका रूपमा बाहिरिएको यो पहिलोपल्ट हो ।
यसअघि उनले सन् २०१६ देखि २०१८ बीच रियललाई लगातार तीन वर्ष च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए । बर्नाबाउमा भएको पहिलो लेग पनि २–१ ले गुमाएको रियल यसपल्ट भने कमजोर साबित भयो ।
दर्शकविहीन इतिहादमा प्राप्त यो जितपछि सिटीले समग्रमा ४–२ को अग्रता लिन सफल रह्यो । दोस्रो लेगमा भरानको भुलमा रहिम स्टर्लिङ र ग्याब्रिएल जिससले गोल गरे । त्यसबीच करिम बेन्जेमाले रियलका लागि एक गोल फर्काए । एजेन्सी