बंगलादेशद्वारा पैंचोमा युरिया दिन आनाकानी


१७ कार्तिक २०७७, सोमबार
mal

काठमाडौं, १७ कार्तिक । बंगलादेशबाट पैंचोमा ५० हजार टन युरिया मल ल्याउने सरकारको प्रयास सफल नहुने देखिएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार बंगलादेशले पैंचोमा मल दिन आनाकानी गर्न थालेको छ । बंगलादेशले आनाकानी गरेपछि खरिद गरेर नै ल्याउने प्रस्ताव कृषि मन्त्रालयले अघि बढाएको छ ।

मन्त्रालयका एक उच्च अधिकारीका अनुसार बंगलादेशबाट पैंचोमा वा खरिद गरेर ल्याउने विषयमा मन्त्रिपरिषद्बाट औपचारिक निर्णय भएको छैन । ‘मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिएपछि बंगलादेशबाट पैंचोमा मल ल्याउने प्रक्रिया अघि बढाइएको थियो,’ स्रोत भन्छ, ‘तर, पछिल्ला पत्रहरू आदान–प्रदान हुने क्रममा बंगलादेश पैंचोमा मल दिन इच्छुक देखिएको छैन । त्यसैले बंगलादेशबाट पैँचो वा नगद तिरेरै मल ल्याउने दुईवटै विकल्पमा अघि बढ्ने गरी हामीले प्रस्ताव अघि सारेका छौँ ।’

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दुवै विकल्पमा मल ल्याउन सैद्धान्तिक स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पत्र पठाएको छ । त्यहाँबाट राय आउनासाथ मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी छ । बंगलादेशबाट मल ल्याउने निश्चित भए पनि पैंचो वा नगदको मोडालिटी टुंगिएको छैन ।

पछिल्लो अध्ययनअनुसार पैंचोमा ल्याउनुभन्दा नगद तिरेरै ल्याउन सस्तो हुने देखिएको मन्त्रालयका ती अधिकारीले बताए । ‘पैंचोमा ल्याउँदा अन्तर्राष्ट्रिय बजारभाउअनुसार ल्याउनुपर्छ । नगदमा ल्याउने हो भने बंगलादेशले फ्याक्ट्री मूल्यमा दिने कुरा गरेको छ । बंगलादेशको फ्याक्ट्री मूल्य अन्तर्राष्ट्रिय बजारको तुलनामा सस्तो छ ।’

पैंचोमा ल्याउँदा बंगलादेशको चितगाउँ पोर्टबाट ल्याउने र सोही पोर्टमा लैजाने सर्त छ । ‘पैंचोबापत ल्याउँदा र पैंचो तिर्दा दुई पटक ढुवानी गर्नुपर्ने हुन्छ । यसले पनि हामीले पैंचोमा ल्याउँदा झन् महँगो पर्ने देखियो,’ स्रोत भन्छ, ‘बरु, बजार मूल्यअनुसार ल्याउन पाए सजिलो र सस्तो हुने देखिएको छ । बंगलादेशले मुलुकभित्रै रासायनिक मल कारखाना सञ्चालन गर्दै आएको छ । त्यसैले त्यहीँ उत्पादन गरेको युरिया नेपाललाई दिने संकेत गरेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७