गृहमन्त्री थापा आन्दोलनकारीसहित सडकमा


१३ चैत्र २०७७, शुक्रबार
thapa 1

काठमाडौं, १३ चैत । सरकारसँग विभिन्न माग राख्दै माइतीघर मण्डलामा दिनहुँजसो धर्ना र जुलुस हुँदै आएको छ । सरकारसँग असन्तुष्टि राख्दै प्रदर्शन हुने मुख्य थलो पनि माइतीघर मण्डला नै हो । धर्ना जुलुस र प्रदर्शनमा असन्तुष्ट समूह हुनु स्वभाविकै मानिन्छ ।

सरकारलाई आफ्नो माग पूरा गराउन दबाब दिने सार्वजनिक थलोका रुपमा मण्डलाले आफ्नो पहिचान नै बनाएको छ । मण्डलाबाटै विभिन्न राजनीतिक दल, समूह र संघसंस्थाले सरकारको विरोध गर्दै आएका छन् । तर बिहीबर माइतीघर मण्डलामा अनौठो दृष्य देखियो ।

जेलमा रहेका सांसद रेशम चौधरी र लक्ष्मण चौधरीलगायतको मुद्दा खारेज गर्नुपर्ने माग राख्दै आयोजित विरोधसभामै पुगेर गृहमन्त्री रामबहादुर थापा पनि धर्नामा बसे । विरोधसभामा सहभागीहरुले गृहमन्त्री नै धर्नामा सहभागी भए पनि अनौठो मात्र मानेनन् आश्चर्य नै व्यक्त गरे ।

थारु कल्याणकारीणी सभा, थरुहट थारुवान् संयुक्त संघर्ष समितिले माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा सहभागी थापाले सडकमा बसेर सम्बोधन गरे । सुरक्षाकर्मीको घेरामा बसेर उनले आन्दोलनकारीको १९ बुँदे समस्या र मागबारेमा सरकारको ध्यान गएको बताउँदै असन्तुष्ट पक्षलाई सम्झाउने कोशिस गरे ।

सम्बोधनका क्रममा उनले भने, ‘सरकारको तर्फबाट म यहाँ उपस्थित छु । तपाईंहरुको समस्या समाधान गर्न सरकारले अब छिट्टै वार्ता टोली गठन गर्छ । तपाइंहरुले पनि धर्ना छाडेर वार्ता टोली गठन गर्नुस् । वार्ता र संवादबाट यसलाई हल गरौं ।’

जनता समाजवादी पार्टी नेपालले रेशम चौधरीको रिहाइको एजेन्डासहित सरकारसँग वार्ता गरिरहेकै समयमा अन्य पार्टीका संघ संगठनले समेत चौधरीको रिहाइको मागसहित आन्दोलनको कार्यक्रम अगाडि बढाएका छन् । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७