नेपाल–खनाल पक्षले समय सीमाभित्रै स्पष्टिकरण पत्रको जवाफ बुझाउने

रामकुमारी झाँक्री भन्छिन्, ‘पार्टी छाड्ने मनसाय छैन, कारबाही गरिए अदालत जान्छौं’


७ बैशाख २०७८, मंगलवार
madhav nepal bhim rawal surendra ghanshyam and ramkumari jhakri

काठमाडौं, ७ बैसाख । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ समय सीमाभित्रै दिने भएका छन् ।

अध्यक्ष ओलीले २७ प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेपछि मंगलबार दिउँसो नेपाल समूहका सांसदहरुको बैठक बसेको थियो । बैठकले पार्टी फुटाउने उद्देश्यका साथ झुटा आरोपहरु लगाएर स्पष्टीकरण सोधिएको भन्दै त्यसको सामना गर्ने निर्णय गरेको छ ।
‘हामीमाथि लगाइएका आरोपहरु कपोकल्पित र भ्रामक छन्’ बैठकमा सहभागी एक सांसदले भने, ‘हामीलाई अर्को पार्टी बनाएको भनेर स्पष्टीकरण सोधिएको छ । हामीले अर्को पार्टी बनाएका छैनौं, पार्टीभित्र अन्तर्संघर्ष गरिहेका छौं र एकतावद्ध र सुदृढ बनाएर हिंडाउन लागिपरेका छौं ।’

अध्यक्ष ओली र उनको समूहले २८ फागुनमा एकलौटी निर्णय गरेर पार्टीलाई विभाजनको दिशामा लगेको भन्दै नेताहरुले त्यसको सामना गर्ने बताएका छन् । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ पनि दिने सांसद गणेश पहाडीले जानकारी दिए ।
रामकुमारी झाँक्री भन्छिन्, ‘पार्टी छाड्ने मनसाय छैन, कारबाही गरिए अदालत जान्छौं’
नेकपा–एमालेकी केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीले पार्टीले कारबाही गरे अदालत जाने बताएकी छन् । ‘अदालत त जान्छौं किनभने प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम पनि हामीले अदालतबाटै बदर गराएका हौं,’ उनले भनिन् ।

ओलीले संसद विघटन गर्दा त्यसविरुद्ध अदालत गएर सँच्याएको बताउँदै अहिले आफूहरुमाथि कारबाही गरे त्यसविरुद्ध पनि अदालत जाने उनले बताइन् । अवैधानिक कदमविरुद्ध राजनीतिक, वैधानिक र कानूनी लडाई लड्ने उनले बताइन् । ‘हामी एमालेभित्रै रहेर संघर्ष गर्छौं, उहाँहरु त हामीले छोडेर जाउन् भन्ने चाहनु भएको छ, तर हामी एमालेभित्रै संघर्ष गर्छौं,’ उनले भनिन् ।

अर्को दल दर्ता गर्ने वा दल त्याग गर्ने आफूहरुको कुनै योजना वा मनसाय समेत नरहेको समेत उनले बताइन् । ‘हामी लडिरहन्छौं, फेरि लड्छौं, भुइँमा लडे पनि उठेर धुलो टक्टक्याएर फेरि लड्छौं,’ उनको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७