देशभरका यी ७६ अस्पतालबाट अब कोभिड संक्रमितको निःशुल्क उपचार (सूची)
कोरोना रोकथाम-उपचारका लागि १४ अर्ब सुनिश्चित, २ अर्बको स्वास्थ्य सामग्री भित्रियो
काठमाडौं, १० जेठ । देशभरका ७६ अस्पतालबाट अब कोभिड संक्रमितले निःशुल्क उपचार सेवा पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (सोमबार) अध्यावधिक गरेको विवरण अनुसार कोभिड केयर युनिट सञ्चालनका लागि ७६ वटा अस्पतालसँग सम्झौता गरिएको छ ।
सम्झौता गरिएका सबै निजी तथा सरकारी अस्पतालमा संक्रमितको निःशुल्क उपचार हुनेछ भने अस्पतालाई निःशुल्क उपचार गरे वापतको खर्च सरकारले उपलब्ध गराउने छ ।
यी हुन् कोभिडको निःशुल्क उपचार हुने अस्पतालहरू
कोरोना रोकथाम तथा उपचारका लागि १४ अर्ब रुपैयाँको स्रोत सुनिश्चित, २ अर्बको स्वास्थ्य सामग्री भित्रियो
कोभिड–१९ रोकथाम तथा उपचारका लागि १४ अर्ब रुपैयाँको स्रोत सुनिश्चित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमवार (आज) भर्चुअल माध्यममार्फत भएको प्रेस बिफ्रिङमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले कोरोना रोकथाम तथा उपचारका लागि १४ अर्ब रुपैयाँको स्रोत सुनिश्चित भएको जानकारी दिएका हुन् ।
यस्तै उनले कोरोनाविरुद्धको लडाइँका लागि विभिन्न देशबाट सहयोग आउने क्रम चलिरहेको बताएका छन् । मन्त्री त्रिपाठीका अनुसार अमेरिका, स्पेन, स्विट्जरल्याण्ड, चीनलगायत देशबाट दुई अर्ब रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । यस्तै निःशुल्क परीक्षण तथा उपचार, स्वास्थ्यकर्मीको भत्तालगायतमा पाँच अर्ब १७ करोड ७२ लाख ८३ हजार रुपैयाँ खर्च भएको छ ।
खोप कार्यक्रम र हाई डिपेन्डेसी युनिटका लागि दुई अर्ब ५४ करोड ५८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको स्वास्थ्य मन्त्री त्रिपाठीले बताए । यस्तै उनले मानिसको ओहोरदोहोर नरोकिँदा र केही कार्यालय सञ्चालन भइरहेकाले सोचे जति कोरोना रोकथाम नभएको बताएका छन् । स्वास्थ्य मन्त्री त्रिपाठीले आउँदो चार हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर क्रमशः घट्दै जाने अवस्था देखिएको पनि बताएका छन् ।
उनका अनुसार एक हप्तायता औसतमा दैनिक आठ हजार जना नयाँ सङ्क्रमित थपिने गरेका छन् । आज देशभर सात हजार चार सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्री त्रिपाठीले कोरोना रोकथाम तथा बिरामीको उपचारका लागि भेन्टिलेटर र अक्सिजन सिलिण्डर थपेको र फेरि थप्दै जाने समेत जानकारी दिएका छन् ।