बहिष्कारका कारण ललितपुरमा पेस हुन सकेन बजेट, मेयर–उपमेयर नै अल्पमतमा
काठमाडौं, १० असार । ललितपुर महानगरपालिकाको आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्न बोलाइएको नगरसभा बैठक बहुमत सदस्यले बहिष्कार गरेका छन् । बिहीबार विहान ११ बजेका लागि बोलाइएको नगरसभा बैठक नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका जनप्रतिनिधिले बहिष्कार गरेका हुन् ।
ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले बुधबार नीति तथा कार्यक्रममाथि छलफल गर्न नदिएकाले आफूहरुले बजेट बहिष्कार गरेको जानकारी दिए । ललितपुरको नीति तथा कार्यक्रम बुधबार नगरसभामा पेश भएको थियो । मेयर चिरिबाबु महर्जनले छलफल नगरी पारित गर्ने अडान राखेको भन्दै एमाले र माओवादी केन्द्रबाट निर्वाचित नगरसभा सदस्यहरुले असन्तुष्टि जनाएका थिए ।
‘नीति तथा कार्यक्रम कम्तीमा अध्ययन गर्न त दिनुपर्यो नि’ वडाध्यक्ष महर्जन भन्छन्, ‘मेयर सा’बले बलमिच्याईं गर्न खोज्नुभयो, अझ दुःखको कुरा त उहाँले मनमै चसक्क हुने गरी एउटा कुरा भने पछि हामी बाध्य भयौं ।’ मेयर महर्जनले ‘छलफल गर्ने भए अर्को चुनाव जितेर आउनु’ भनेको वडाअध्यक्ष महर्जनको भनाइ छ ।
मेयर–उपमेयर अल्पमतमा
ललितपुरमा मेयर, उपमेयर र १० वटा वडाका वडाध्यक्ष नेपाली कांग्रेसबाट निर्वाचित छन् । महानगरका २९ वडामध्ये १४ वटामा नेकपा एमाले र ४ वटामा नेकपा माओवादी केन्द्र विजयी भएको थियो । त्यस्तै एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।
नगर कार्यपालिकाका ३९ सदस्यीयमध्ये २६ जना मेयरको विपक्षमा रहेको वडा नम्बर ३ का वडाध्यक्ष महर्जन बताउँछन् । मेयरको पक्षमा १३ जनामात्रै छन् ।
नगर कार्यपालिकामा मात्र होइन नगरसभामा पनि मेयर महर्जनको बहुमत छैन । वडाध्यक्ष श्रीगोपाल महर्जनका अनुसार ललितपुरमा एमाले र माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले सँगै नगरसभा बहिस्कार गरेको बताए । नगरसभामा बहुमत नभएका कारण बुधबार नगरसभामा पेश भएको नीति तथा कार्यक्रम पनि पारित भएको छैन ।