ओलीको आवेग : सर्वोच्चका न्यायाधीशको नियतमाथि प्रश्न, आफ्नै दलका वरिष्ठ नेतामाथि अभद्र टिप्पणी


१५ असार २०७८, मंगलवार
kp oli 1

काठमाडौं, १५ असार । प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतका न्यायाधीश र विपक्षी गठबन्धनका शीर्ष नेतामाथि आक्रोशपूर्ण अभिव्यक्ति दिएका छन् ।

७०औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले इजलासमै हिंसालाई दुरुत्साहन गर्ने अभिव्यक्ति आउँदा समेत न्यायाधीशले रोक्न नसकेको आरोप लगाए । ओलीको अभिव्यक्तिमाथि न्यायालयको कुनै प्रतिक्रिया नआए पनि विपक्षी गठबन्धनका नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालले भने सोमबार नै जवाफ दिएका छन् ।

१. अहिले त कानुनले प्रस्ट एउटा परिभाषा गरेको छ, फैसला अर्को आउँछ
प्रचण्डपथ यति व्याप्त भइसक्यो, कांग्रेसले त्यसलाई आफ्नो मार्गदर्शक सिद्धान्त बनाएपछि अहिले प्रचण्डपथ सुप्रिम कोर्टमा पनि चर्चा हुन्छ । फ्रान्स र बेलायतका राजाहरू किन काटिन्थे भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले गरे जस्तो गर्दा रहेछन् र पो काटिँदोरहेछ ।
अथवा, अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काटनुपर्छ ।

यो कुरा सर्वोच्च अदालतमा प्रचण्डका एकजना कार्यकर्ताले भने । कांग्रेसका कार्यकर्ताले नाथुराम गोड्से मै बन्छु अर्को ठाउँमा भने । आश्चर्य लाग्छ, हिंसालाई दुरुत्साहन गर्ने वक्तव्य दिँदा रोक्ने गरेको पाइएन । यस्तो हिंसालाई दुरुत्साहन गर्ने काम अदालतमा गर्नुहुन्न । अथवा, विद्वान् अधिवक्ताजी तपाईंं आफ्नो वक्तव्य सम्हालिएर राख्नुहोस् भनेर के न्यायमूर्तिहरूले सुझाब पनि राख्न सक्नु हुन्न र ?

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले आ–आफ्ना ठाउँमा बसेर जिम्मेवारी पूरा गर्ने प्रणालीलाई जोसुकैले पनि मान्नुपर्छ । अहिले त कानुनले एउटा प्रस्ट परिभाषा गरेको छ, फैसला अर्को आउँछ । कानुनले स्पष्ट रूपमा एउटा निर्दिष्ट गरेको छ, केन्द्रीय समिति भन्नाले के बुझिन्छ परिभाषाले भन्छ । केन्द्रीय समिति, तदर्थ समिति वा यस्तै जुनसुकै नाम दिएको भएता पनि केन्द्रीय निकायको अधिकार प्रयोग गर्ने हैसियत भएको केन्द्रीय वा राष्ट्रिय तहको संस्था बुझ्नुपर्छ ।

अदालतले त्यो छोडिदिन्छ, परिभाषा नै छोडिदिन्छ । केन्द्रीय कमिटीले गर्नुपर्ने काम महाधिवेशन आयोजक समितिले गरेको हुनाले मिल्दैन भन्छ । परिभाषालाई छाडेर, अराजकतालाई प्रश्रय दिने खालको निर्णय हुन्छ । अदालतको निर्णय भएको हुनाले मान्नैपर्‍यो । तर, देख्नुपर्ने नदेखिदिने, अनुचित कुराले प्रश्रय पाउने । उचित, आवश्यक, लोकतन्त्रका मूल्य मान्यताहरूका स्थापना र कार्यान्वयन हुनेको कुराको व्यवधान हुने कानुनी राजमा हुनुहुँदैन । यस्तो उल्लंघन गरेर संविधानको सर्वोच्चता हुने होइन । संविधानको पालना निष्ठाका साथ गरेर मात्रै हुन सक्छ ।

२. कांग्रेसकै नेताहरू नाथुराम गोड्से खोज्ने र नभेटिए आफैँ हुने तहमा पुगे
कांग्रेस प्रचण्डपथमा हिँडेपछि कांग्रेसकै नेताहरू नै नाथुराम गोड्से खोजी गर्ने, नभेटिए आफैँ हुने भन्ने तहमा पुगेका छन् । यो भनेको प्रचण्डपथ नै अँगालेको हो । यसै त अराजनीतिक, अस्थिरताको खेती, देश कता जान्छ भन्ने मतलब छैन । त्यो कुरामा पुग्नु भनेको स्वाभाविक रूपमा प्रचण्डपथ नै अँगालेको हो । कांग्रेसजस्तो पार्टीका लागि के बित्यो र केका विरुद्ध अहिले आन्दोलनमा उत्रिनुप¥यो ? आन्दोलनको पनि एउटा कारण हुन्छ नि !

३. प्रचण्डले छेपारोले जस्तै एक–एकछिनमा रंग फेर्छन्
प्रचण्डले अस्ति राष्ट्रपतिभन्दा त राजै राम्रो के–के भने क्यारे ! मान्छेले छक्क माने । किन छक्क मान्ने ? छेपारोले एक–एकछिनमा रंग फेर्छ त ! खैरोखैरो मुढामा गयो भने खैरोखैरो रंग बनाउँछ । हरियो हरियोमा गयो भने हरियो बनाउँछ । अलि कालो बोक्रो भएको ठाउँमा पुग्यो भने त्यहाँ कालो बनाउँछ । कहिले कम्फर्टेबल सरकार बनाइदिन्छु भन्छ ।

कहिले यस्तो हुँदा पनि हाम्रा लोकतान्त्रिक छिमेकी के हेरेर बसेका छन्, किन हस्तक्षेप गर्दैनन् भन्छ । कहिले गणतन्त्र ल्याउने मै हुँ भन्छ । कहिले गणतन्त्र काम लाग्दैन, गणतन्त्रभन्दा त राजतन्त्र राम्रो भन्ने ठाउँमा पुग्छ । कहिले यो राष्ट्रपति भन्ने संस्थाभन्दा त राजा नै ठीक भन्न पुग्छ । यो प्रचण्डका लागि कु ठूलो कुरा हो ?

४. माधव नेपाल लाज–सरम पचेका मान्छे हुन्, उनी कांग्रेस प्रवेश गर्न सक्छन्
माधव नेपाल भन्ने एकजना कांग्रेसका पछाडि कुद्ने मान्छे छन् । अहिले नेपालको राजनीतिमा सबैजसोले नै चिन्छन् प्रायः किनभने, असाध्यै चर्चा भइराखेको छ कि यतिसम्म पनि मान्छे पतन हुन सक्दोरहेछ । आफ्नो पार्टीको सरकार ढाल्न, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिस्ट आन्दोलन सिध्याउने, अर्कोतिर लागिसक्ने, अनि एमालेको वरिष्ठ नेता हुँ भनेर फेरि हिँड्ने । यस्तो लाज–सरम पचेको मान्छे चर्चा अलिकति सकारात्मक हिसाबले मात्रै होइन नकारात्मक हिसाबले पनि गर्छन् नि ! गान्धीको मात्रै चर्चा हुँदैन नाथुराम गोड्सेको पनि चर्चा हुन्छ ।

अहिले धाक के लगाएका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो भनेर । मलाई बौलाह कुकुरले टोकेको छ र ? प्रधानमन्त्रीको प्रस्ताव मैले माधव नेपाल भन्ने व्यक्तिलाई राखेँ अरे ! माधव नेपालले आफैँ भन्दै हिँडेका छन्, मलाई प्रधानमन्त्रीको प्रस्ताव राखे, तर म मान्दिनँ ।

कोही काम नपाएर, कोही नेपालमा नभेटाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला ? उनी शेरबहादुर देउवाको पार्टी नै ज्वाइन गर्न पनि सक्छन्, कार्यकर्ता भएर हिँडेकै छन् । प्रचण्डको पार्टी त उनलाई ज्वाइन गर्नु नै छ, अन्तमा । एकढंगले भन्ने हो भने प्रचण्डका पुच्छर हुन् । पुच्छर भएपछि जन्तु पूर्वतिर फक्र्यो भने त्यो पश्चिमतिर हुन्छ, पश्चिमतिर फर्क्यो भने त्यो पूर्वतिर हुन्छ । पछाडि–पछाडि सँगै हुन्छ । उनी यता जाऊँ भन्यो भने त्यतै पछि–पछि लाग्छन्, कांग्रेसतिर जाऊँ भनेपछि त्यसै पछि लाग्छन् ।

५. एक जनालाई मन्त्री बनाउने मात्रै जनमोर्चाको राजनीति हो
राष्ट्रिय जनमोर्चाको एकजना प्रतिनिधि छ । त्यो एकजना प्रतिनिधिलाई कसरी मन्त्री बनाउन सकिन्छ भन्ने मात्रै उहाँहरूको राजनीति हो । हामीसँग हुँदा पनि राजनीति त्यत्ति हो, अहिले पनि त्यत्ति हो । त्यसका लागि उहाँहरू यताबाट हुँदैन भनेपछि कांग्रेसको नेतृत्व स्वीकार गरेर भए पनि मन्त्री हुने, अथवा अब उहाँहरूको राजनीति कहाँ पुग्यो भन्दा विचारको प्रश्न रहेन, वर्गीयताको प्रश्न रहेन, वर्गीय राजनीतिको प्रश्न रहेन, गन्तव्य र उद्देश्यका प्रश्नहरू रहेनन् । यो एकबारको जिन्दगी मन्त्री बनाइहालिएन भने त पछि त गयो भन्ने ठाउँमा उहाँहरू पुग्नुभयो, तपाईं–हामीले देखिरहेका छौँ ।

विपक्षी गठबन्धनका शीर्ष नेता भन्छन्– ओली अत्यन्तै छुद्र र तुच्छ ढंगले गालीगलौजमा उत्रिए

विपक्षी गठबन्धनका शीर्ष नेताले केपी ओली इतिहासमा कलंकित र बदनाम प्रधानमन्त्रीका रूपमा चिनिने दाबी गरेका छन् । वुद्धिजीवीसँग अन्तरक्रियामा राष्ट्रपति जस्तो संस्थालाई समेत प्रधानमन्त्री ओलीले बदनाम गराएको उनीहरूले बताए । ओलीले सोमबार बिहानै सर्वोच्च अदालतदेखि, बुद्धिजीवी र विपक्षी गठबन्धनका शीर्ष नेतामाथि तिखो टिप्पणी गरेको केही समयपछि गठबन्धनका नेताहरूले प्रधानमन्त्री ओली अत्यन्तै छुद्र र तुच्छ ढंगले गालीगलौजमा उत्रिएको बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले ओलीले प्रयोग गरेको भाषालाई इंगित गर्दै प्रधानमन्त्रीको हैसियतमा देश चलाउने क्षमतमाथि नै प्रश्न उठाए । ‘सम्मान गर्न सक्ने व्यक्तिले देश बनाउँछ । छुद्र भाषामा बोलेर केही हुँदैन । छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?,’ देउवाले प्रश्न गरे ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीले समेत पदको गरिमालाई नै समाप्त पारेको आरोप लगाए । संविधानले दिएको जिम्मेवारी र कर्तव्य पूरा नगरेर राष्ट्रपति भण्डारीले आफ्नो गरिमा समाप्त गरेको उनको भनाइ छ ।

‘संसद्को कुनै पनि सांसदले बहुमत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा प्रधानमन्त्री हुन सक्ने व्यवस्था संविधानले गरेको छ । हामीले बहुमत पुर्‍याएर प्रस्ताव लैजाँदा पनि राष्ट्रपतिले संविधानको व्यवस्थाअनुसार प्रधानमन्त्रीमा नियुक्त नगरेर ओलीको कार्यकर्ता बन्नुभयो,’ उनले भने, ‘संविधानको अन्तिम व्याख्या गर्ने संस्था अदालत हो । न्यायालयको निष्पक्षता तथा स्वतन्त्रतामा विश्वास गर्छौँ ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै षड्यन्त्रका गोटी चाल्नका निम्ति ओली जुनसुकै हर्कतमा जान सक्ने खतरा रहेको बताए । राष्ट्रपति संस्था यति छिटो बदनाम होला भन्ने आफूले कल्पनासमेत नगरेको उनको भनाइ छ ।

‘प्रधानमन्त्री र राष्ट्रपति मिलेर जे गरिदिए पनि हुने भन्ने भएको छ’, प्रचण्डले भने, ‘त्यसका निम्ति विभिन्न इन्स्टिच्युटसँग कुरा पनि गर्नुभयो होला । खतराको घन्टी सिद्धियो । अब हामी सुरक्षित भयौँ । हाम्रो संविधान, लोकतन्त्र सुरक्षित भयो भन्ने होइन । ढुक्क हुने स्थिति अझै बनेको छैन ।’

एमाले नेता माधव नेपालले प्रधानमन्त्री ओलीतर्फ इंगित गर्दै राम्रो प्रणाली बसाएर मात्र नहुने साथै राम्रो संस्कार पनि चाहिने बताए । ‘हामी आफैँ अरूलाई भन्छौँ, आफू मान्दैनौँ । यसमा नम्बर वान सम्माननीय प्रधानमन्त्री केपी ओली हुनुहुन्छ,’ उनले भने ।

नेता नेपालले प्रधानमन्त्री ओलीको भाषण रेकर्ड गरेर राख्नसमेत आग्रह गरे । ‘प्रधानमन्त्रीको भनाइ सकारात्मक र नकरात्मक दुवै तरिकाले बुझ्नुपर्छ । तर, बानी र पानी माथिबाट तल बगेको राम्रो,’ उनले भने, ‘मलाई बहुला कुकुरले टोकेको छ र भन्नु भएछ । कति राम्रो ! आफै बुझ्नुस् ! । उहाँका हिजो र आजका भाषण ध्यान दिन लायक छन् । रेकर्ड गरेर राख्नुहोला, म पनि खोजिरहेको छु ।’

यस्तै जसपा वरिष्ठ नेता अशोक राइले समयको आवश्यकता गठबन्धन बनाउनुपर्ने अवस्थामा पुर्‍याएको बताए । ‘यो गठबन्धन लामो समयसम्म टिक्नुपर्छ, टिकाउनुपर्छ । गठबन्धन रहरले वा लहडले होइन, आवश्यकताले निर्माण भएको हो,’ उनले भने । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७