नेपाल–खनालसहित ११ नेतामाथिको कारवाही फिर्ता


१६ असार २०७८, बुधबार
Madhav jhalanath1

काठमाडौं, १६ असार । नेकपा (एमाले) का वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेता माधवकुमार नेपाललगायत ११ जनालाई पार्टीमा गरिएको कारबाही फिर्ता गरिएको छ ।

आज (बुधबार) बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले उक्त कमिटी खारेज गर्दै त्यसलाई एमाले केन्द्रीय कमिटीमा रूपान्तरण, नेताहरुमाथि गरिएको कारबाही फिर्तालगायत निर्णय गरेको नेता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । यसअघि, खनाल, नेपाललगायत ११ नेताहरुलाई पार्टीबाट निष्कासन गरिएको थियो । रूपान्तरित केन्द्रीय कमिटीको बैठक यही असार १८ गते काठमाडौंमा बस्ने गरी आह्वान गरिएको छ ।

अब एमालेका काम कारवाही केन्द्रीय कमिटीकै नामबाट सञ्चालन हुने भएका छन् । आज (बुधबार) बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थप गरेको छ ।

नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बनेका छन् । यसअघि एमालेका पदाधिकारीहरू यथावत रहने निर्णय भएको छ ।

रूपान्तरित केन्द्रीय कमिटीको बैठक यही असार १८ गते काठमाडौंमा बस्ने गरी आह्वान गरिएको विघटित महाधिवेशन आयोजक कमिटीका एक सदस्यले जानकारी दिएका छन् । आजको निर्णयसँगै एमाले २०७५ जेठ २ गतेको केन्द्रीय कमिटीमा रूपान्तरण भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७