माथिल्लो तामाकोशीको उद्घाटन आज, ७६ मेगावाट विजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिंदै


२१ असार २०७८, सोमबार

काठमाडौं, २१ असार । राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आज (सोमबार) देखि बिजुली उत्पादन शुरु हुँदैछ ।

४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट आजदेखि बिजुली उत्पादन गर्न लागिएको हो । आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ४ बजे श्रव्यदृष्य माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ । आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट छ ।

आयोजनाले आइतबार विद्युत्गृह रहेको गोगरदेखि खिम्तीसम्मको ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ । आयोजनाले शनिबार मात्रै ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरेको थियो ।
आयोजना स्थलमा सूचना प्रणालीका लागि अप्टिकल फाइबरसमेत जोडिएको छ । आइतबारसम्म आयोजनामा जडान गरिएका उपकरण नो लोडमा चलाइएको थियो । सोमबारदेखि भने ती उपकरणलाई लोडमा चलाइने प्रवक्ता न्यौपानेले जानकारी दिए ।

आयोजनाबाट उत्पादित बिजुली विद्युत गृह रहेको गोगरबाट न्यू खिम्ती सवस्टेशन हुँदै ढल्केबर पुग्नेछ । प्रवक्ता न्यौपानेका अनुसार ढल्केबर सवस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ । उद्घाटनको आवश्यक तयारी पूरा भएको जानकारी दिँदै प्रवक्ता न्यौपानेले नेपाली जनताले विगत १० वर्षदेखि देखेको सपना पूरा हुन लागेको बताए । यो आयोजना स्वदेशी लगानीमा निर्माण भएको हालसम्मकै ठूलो विद्युत् आयोजना हो ।

यही असार मसान्तभित्रै आयोजनाको अर्को एक युनिटबाट समेत बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी गरिएको छ । आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि यही असार १३ गतेदेखि १९ गतेसम्म आवश्यक तयारी गरिएको थियो । त्यसमा विशेषगरी प्रसारण लाइन व्यवस्थापनको काम गरिएको डा.न्यौपानेले जानकारी दिए । प्राकृतिक विपत्ति तथा अनेकन समस्यासँग जुध्दै १० वर्षमा माथिल्लो तामाकोसी आयोजना अब अन्तिम चरणमा पुगेको छ ।

माथिल्लो तामाकोशीको विद्युत् गृहबाट आएको २२० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सवस्टेशनमा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणको प्रणाली सञ्चालन विभागले यही असार १२ गते एक सूचनामार्फत राष्ट्रिय गौरवको माथिल्लो तामाकोशीको विद्युत् राष्ट्रिय विद्युत् प्रणालीमा जोड्ने कार्यक्रम भएकाले खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द हुने जानकारी दिएको थियो ।

सो अवस्थामा प्रणालीमा विद्युत् अपुग हुने भएकाले ढल्केबारदेखि कोहरपुरसम्मका सवस्टेशनबाट विद्युत् आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकको छोटा समयका लागि विद्युत् कटौती भएको थियो । त्यस समयमा प्राधिकरणले कुलेखानी जलाशयको पानी प्रयोग गरी यथाशक्य विद्युत् कटौतीको समय कम गर्न प्रयास गरेको थियो । यसअघि आयोजनाको सुरुङमा पानी हालेर हालसम्म पनि परीक्षणलगायतका काम नियमित हुँदै आएको थियो ।

माथिल्लो तामाकोसी आयोजनामा कूल छ युनिट छन् । स्वदेशी लगानीको ठूलो आयोजना निर्माण सम्पन्न हुन लामो समय लाग्दा अनेकन आशङ्का पैदा भएका थिए । सरकारले सबै खालका साधन र स्रोत उपलब्ध गराएको भए पनि प्राकृतिक विपत्ति, कोरोनालगायत कारण पछाडि धकेलिँदै आएको थियो।

आयोजना अन्तिम चरणमा पुगेपछि स्वदेशी लगानीमा नै ठूला परियोजना निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वास समेत पैदा गरेको छ । यो आयोजनाको शुरुआती लागत ३५ अर्ब रहेको भए पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाब, ब्याजलगायतका कारणले लागत बढेर झण्डै ८० अर्ब पुगेको छ ।

पछिल्लोपटक प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आयोजनास्थल पुगेर आवश्यक निर्देशन तथा बिजुली उत्पादनको तयारीका बारेमा जानकारी लिएका थिए । पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले हरेक महिना आयोजनास्थल पुगेर समस्या समाधानमा सहजीकरण गर्दै आएका थिए । सबैको साथ र सहयोगका कारण माथिल्लो तामाकोशी निर्माणको अन्तिम चरणमा पुगेको प्रवक्ता न्यौपानेले बताए । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले सो आयोजनाको शिलान्यास गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७