विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चारै पदाधिकारी हटाइने

आन्दोलनका कार्यक्रम आंशिक फिर्ता, सरकारसँग ६ बुँदे सहमति


२० श्रावण २०७८, बुधबार
bp hospital dharan
फाइल फोटो

सुनसरी, २० साउन । सरकारी वार्ता टोली र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएपछि आंशिक रुपमा आन्दोलनका कार्यक्रम फिर्ता भएको छ ।

प्रतिष्ठान धरानका चारै जना पदाधिकारीलाई बर्खास्त गर्ने प्रक्रिया बुधबारबाटै थालिने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र प्रतिष्ठान शुद्धीकरण अभियानबीच बुधबार उक्त सहमति भएको हो ।

BP Pratishthan Sarkar Sahamati

प्रतिष्ठान शुद्धीकरण अभियानका अभियन्ताले उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरुप्रसाद खनाल, रजिस्ट्रार मोहनचन्द्र रेग्मी र अस्पताल निर्देशक गौरीशंकर साहले अनियमितता गरेको आरोप लगाउँदै उनीहरुलाई पदबाट हटाई छानविन गर्नुपर्ने माग राखेको थियो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेललगायत तीन सदस्यीय टोली र संघर्ष समिति संयोजक डा. एसपी रिमालले ६ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिष्ठानको तर्फबाट वार्ता टोलीका संयोजक डा. एसपी रिमालले कालोपट्टी बाँधेर काम गर्ने र इमरजेन्सी, कोभिड वार्ड लगायतमा काम ठप्प पार्ने लगायतका आन्दोलनका कार्यक्रम फिर्ता भएको बताए । तर, पदाधिकारीको कार्यकक्षमा लगाइएको ताला र अन्य प्रदर्शन जारी रहने डा. रिमालले बताए ।

सहमतिसँगै संघर्ष समितिले अस्पतालमा रोकेका सेवाहरु सुरु गर्ने भएको छ । संघर्ष समितिमा आवद्ध चिकित्सकसहितका स्वास्थ्यकर्मीले आकष्मिकबाहेकका सबै सेवा बहिष्कार गरेर आन्दोलित भएका थिए ।

विपी प्रतिष्ठानमा राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरु अनियमिततामा मुछिएका थिए । यसअघिका पदाधिकारीहरूलाई पनि भ्रष्टाचार मुद्दा लागेको थियो भने बहालवाला पदाधिकारी पनि अनेक अनियमितताका काण्डमा मुछिएका छन् ।

1 1
2 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७