करणी मुद्दाका प्रतिवादीलाई छुटाई दिने भन्दै रकम ठगी गर्ने पक्राउ
एक करोड माग, १३ लाख १० हजार ठगी
कास्की, २८ साउन । जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिन्छौ भनी रकम ठगी गरी फरार रहेका एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१८ सराङकोट बस्ने ४९ वर्षीय भोजराज त्रिपाठी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिए ।
१९ फागुन २०७७ मा जबरजस्ती करणी मुद्धाका प्रतिवादीलाई ‘प्रहरी, वकिल र अदालतसँग सेटिङ छ एक करोड रकम दिए मिलाई दिन्छु नत्र १५ वर्ष जेल जान्छ’ भनी झुटो आश्वासन दिलाई त्रिपाठीले ठगी गरेको हमालको भनाई छ ।
त्रिपाठीले पीडकबाट १२ लाखको चेक र १ लाख १० हजार नगद लिई ठगी गरेको कसुरमा पक्राउ गरेको हो । प्रहरी टोलीले सोही मुद्धामा पोखरा १७ राष्टबैंक चोकस्थित एक खाजाघरबाट सूर्यलाल खड्का र कमन भन्ने कमान बहादुर तामाङलाई पक्राउ गरी मुद्दा दायर गरेकोमा सो घटनामा संलग्न रहेका त्रिपाठी भने हालसम्म फरार रहेका थिए । फरार रहेका त्रिपाठीलाई बुधवार प्रहरीले पोखरा १८ सराङ्कोटवाट पक्राउ गरेको हो ।
त्रिपाठीलाई बुधवारै कास्की जिल्ला अदालतमा बुझाइएको हमालले जानकारी दिए । त्रिपाठीका विरुद्ध ठगी र जबरजस्ती करणी कसुरमा मिलापत्र गर्न गराउन नहुने मुद्दाको अभियोग समेत रहेको हमालले जानकारी दिए ।