भागेका अफगानी राष्ट्रपति गनी यूएई नै किन गए ? कहिलेसम्म रहन्छन् त्यहाँ ?


६ भाद्र २०७८, आईतवार
ashraf gani11629597585

काठमाडौं, ६ भदौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले अफगानिस्तान छोडेर भागेका राष्ट्रपति अशरफ गनीलाई मानवीय आधारमा शरण दिएको छ । अगस्त १५ मा जब तालिबान लडाकुले काबुललाई घेराबन्दी गरिरहेका थिए, तब राष्ट्रपति गनी अचानक देश छोडेर भागेका थिए ।

यूएईको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै गनीलाई मानवीय आधारमा शरण दिएको जनाएको छ । गनीले भने एक भिडियो जारी गर्दै आफू देश छोडेर नभागेको बताएका छन् । आफूले एउटा ठूलो त्रासदी जोगाएको उनको भनाइ छ ।

उनले आफू यूएईमा रहेको पुष्टि गर्दै अफगानिस्तान फर्कनको लागि वार्ता गरिरहेको पनि बताएका छन् । यूएईले इस्लामिक देशका कुनै नेतालाई शरण दिएको यो पहिलो पटक भने होइन । ९० को दशकमा पाकिस्तानी प्रधानमन्त्री बेनेजीर भुट्टो पनि यसैगरी यूएईमा रहेकी थिइन् । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफ पनि सत्ताच्युत भएपछि यूएईतर्फ लागेका थिए ।

गनी अफगानिस्तान छोडेपछि यूएई नै किन पुगे र यूएईले उनलाई शरण किन दियो भन्ने चासोको विषय बनेको छ । तर, यूएई यो चाहँदैन कि आफ्नो जमिनको प्रयोग राजनीतिक रूपमा अशरफ गनीले गरून् । बीबीसी सुरक्षा संवाददाता फ्र्यांक गार्डनरका अनुसार यूएईमा ठूलो संख्यामा अफगान र पाकिस्तानी नागरिक छन् । यस्तोमा यूएई चाहँदैन कि आफ्नो जमिन अफगानिस्तानको राजनीतिक अखडा बनोस् ।

सन् १९९६ मा जब तालिबानले अफगानिस्तानमाथि कब्जा गरेर सरकार बनाएको थियो, तब पाकिस्तान, साउदी अरब र यूएईले नै उक्त सरकारलाई मान्यता दिएका थिए ।

यूएईमा कहिलेसम्म रहन्छन् गनी ?
यूएईमा गनी कहिलेसम्म रहन्छन् भन्ने स्पष्ट भएको छैन । उनी अमेरिका पनि जान सक्छन् । तर, अहिल्यै अमेरिकाले गनीलाई प्रवेश नदिने विश्लेषकहरूको भनाइ छ ।

यूएईमा नै बस्न साह्रै सहज पनि छैन । त्यहाँको जीवनयापन धेरै महँगो छ । केही रिपोर्टमा गनीले मोटो रकम लिएर अफगानिस्तानबाट भागेको दाबी गरिएको थियो । तर, गनीले यो आरोपको खण्डन गरेका छन् । उनले एक वक्तव्यमा आफू अफगानिस्तानबाट एकजोडी कपडा र जुत्ता पहिरिएर निक्लिएको र आफूसित केही पनि नभएको बताएका थिए ।
यू्एई नै किन पुगे गनी ?
विश्लेषकका अनुसार यूएई पुग्नुको एक कारण यो पनि हो कि यो देशले सुरक्षा र गोपनीयता प्रदान गर्छ । त्यहाँ गुपचुप रहन र आफ्नो पैसा लगानी गर्नको लागि पर्याप्त अवसर र स्थान छ । युएईमा अत्याधुनिक क्यामेरा राखिएको छ र सुरक्षा एकदम मजबुत छ । त्यहाँ शाही परिवारको सत्तामा बलियो पकड छ । यस्तो अवस्थामा त्यहाँ पुग्ने राजनीतिक मानिस सुरक्षित महसुस गर्छन् । सोही कारण विश्वभरबाट नेता र राजनीतिक परिवारसित जोडिएका व्यक्तिहरू शरण लिनको लागि युएई पुग्ने गरेका छन् । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७