पौडेल पक्षीय जिल्ला सभापतिले पार्टी कार्यालयमा धर्ना दिने


७ भाद्र २०७८, सोमबार
congress

काठमाडौं, ७ भदौं । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले पार्टी कार्यालय सानेपामा धर्ना दिने भएका छन् । क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने माग राख्दै जिल्ला सभापतिहरुले भोलि (मंगलबार) पार्टी कार्यालयमा धर्ना दिने भएका हुन् ।

दुई दिनअघि पौडेल पक्षका जिल्ला सभापतिहरुले सभापति शेरबहादुर देउवालाई इमेलमार्फत् दुई दिनभित्र क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गर्दै ‘अल्टिमेटम’ दिएका थिए । क्रियाशील सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदनमा केन्द्रबाटै नाम थपघट भइरहेको आशंका गर्दै पौडेल निकट जिल्ला सभापतिहरुले सदस्यता सार्वजनिक गर्नुपर्ने माग गरेका हुन् ।

‘प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गरियोस्,’ कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले भने, ‘सदस्यता सार्वजनिक गर्न दवाव दिन धर्नामा बस्न लागेका हौं ।’

जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सूचीमा पार्टीका विभिन्न तहले गरेको पार्टीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम छानबिन गरेर अन्तिम रुप दिन माग गरेका छन् । साथै सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्ने उनीहरुको माग छ ।

कांग्रेसले क्रियाशील सदस्यतालाई टुंगो लगाउन सकेको छैन । कांग्रेसमा बारा, सप्तरीलगायत विभिन्न १३ निर्वाचन क्षेत्रमा देखिएको सदस्यता विवाद टुंग्याउन सकस छ ।

सदस्यता विवाद सुल्झाउन कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मेवारी दिएको थियो । तीन नेता सम्मिलित कार्यदल दैनिक छलफलमा रहेपनि सदस्यता विवाद टुंगिन सकेको छैन ।

यस्ता छन् माग

१. प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गरियोस् ।
२. क्रियाशील सदस्यता तहगत निर्णय गरिएको सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानविन गरेर मात्र अन्तिम रुप प्रदान गरियोस् ।
३. सबै जिल्लाका सभापतिको निर्वाचन प्रकृयामा एकरूपता आउनेगरी निर्वाचन निर्देशिकालाई संशोधन गरियोस् ।

त्यस्तै निर्वाचन प्रक्रियामा सबै जिल्ला सभापतिको एकरूपता आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्न पनि उनीहरुले माग गरेका छन् । उनीहरुले केन्द्रीय कार्यालयमा धर्ना, अनसन लगायत आन्दोलन थालिने बताएका छन् ।

श्रीमान सभापति ज्यू
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
वीपी स्मृति भवन, बीपीनगर, ललितपुर ।
मितिः २०७८–०५–०५
विषयः माग सम्वोधनका लागि हार्दिक अनुरोध
नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको सन्दर्भमा क्रियाशील सदस्यताको पारदर्शिता सम्वन्धी बिषयलाई लिएर देशभरिका लाखौं सदस्य साथीहरुको भावनाको प्रतिनिधित्व गर्दै आरम्भदेखि नै हामीले नेतृत्व समक्ष प्रष्ट विचार राख्दै आएका हौं । वडा तहबाट निर्णय भइआएका नामहरू हटाउने, ठाडै केन्द्रबाट जथाभावि नामहरू थप्ने र झिक्ने तथा सतप्रतिशतभन्दा बढी नामहरू इन्ट्री गर्ने जस्ता धाँधलीजन्य गतिविधि रोक्न निरन्तर आग्रह गर्दै रह्यौं ।

यस्ता अनियमिततालाई बेलैमा रोक्नु त कता हो कता, झन पछिल्ला दिनमा आएर सुनियोजित ढंगबाट अमूक ब्यक्तिको स्वार्थसिद्धि गर्न तथा लामो समयदेखि पार्टीमा रगत–पसिना भिजाएका निष्ठावान नेता कार्यकर्ताको राजनीतिक हत्या गर्न हजारौ संख्यामा क्रियाशील सदस्य थप्ने वा मेट्ने वा अर्को वडामा पन्छाउने जस्ता अशोभनीय कामहरु भैरहेबाट हामी स्तब्ध भएका छौं । त्यसमाथि ७७ वटै जिल्लाका सभापतिको एउटै प्रकृयाबाट निर्वाचन हुने विधानको प्रष्ट ब्यवस्था विपरीत निर्वाचन निर्देशिका जारी भएबाट हामीलाई थप चिन्तित बनाएको छ ।

तसर्थ,
१. प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गरियोस ।
२. क्रियाशील सदस्यता सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानविन गरेर मात्र अन्तिम रुप प्रदान गरियोस ।
३. सबै जिल्लाका सभापतिको निर्वाचन प्रकृयामा एकरूपता आउनेगरी निर्वाचन निर्देशिकालाई संशोधन गरियोस ।

हाम्रो उपरोक्त मागहरुलाई संवोधन गर्नेगरी यही भाद्र ७ गते भित्र आवश्यक कदम नचालिएमा भोलिपल्ट (भाद्र ८ गते) बाट केन्द्रीय कार्यालयमा धर्ना, अनसन लगायतका शान्तिपूर्ण आन्दोलनमा उत्रन हामी वाध्य हुने ब्यहोरा जानकारी गराउँछौं । जय नेपाल ।

विनीत
जिल्ला सभापति एवं साथीहरु

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७