नेपालमा ६८.६ प्रतिशत जनसंख्यामा कोभिड–१९ विरुद्धको एन्टिबडी


१४ भाद्र २०७८, सोमबार
Immunity Antiboy1630238853

काठमाडौं, १४ भदौं । नेपालमा हालै गरिएको राष्ट्रिय सेरोप्रिभिलेन्स सर्वेक्षणले ६८.६ प्रतिशत जनसंख्यामा कोभिड १९ विरुद्धको एन्टिबडी बनेको देखाएको छ ।

अध्ययनमा खोप लिएका तथा नलिएका दुवैथरी नमुना समावेश गरिएको थियो । देशभरिका ६ वर्षमाथिका १३ हजार १ सय ६१ जनालाई सहभागी बनाइएको सर्वेक्षणबाट यस्तो नतिजा प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । सर्वेक्षणको नतिजा मन्त्रालयले आइतबार सार्वजनिक गरेको हो ।

सर्वेक्षणले एक मात्रा खोप लिएकामध्ये ८० प्रतिशत र दुवै मात्रा खोप लिएकामध्ये ९० प्रतिशतमा एन्टिबडी बनेको देखाएको छ । यसको अर्थ नेपालमा प्रयोग गरिएको खोपको प्रभावकारिता राम्रो रहेको महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले बताए । ‘प्रारम्भिक सर्वेक्षणमा खोप लगाएकाहरूमा देखिएको एन्टिबडी सकारात्मक छ’, उनले भने ।

विश्व स्वास्थ्य संगठनको सहयोगमा महाशाखाले असार २१ देखि साउन ३० भित्रमा प्राप्त नमुना समेटेर अध्ययन गरेको थियो । सर्वेक्षणमा १३ हजार ७ सय जनामा अध्ययन गर्ने लक्ष्य लिइएकोमा १३ हजार १ सय ६१ जनाको परिणामका आधारमा प्रारम्भिक नतिजा प्रकाशित गरेको पौडेलले बताए । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७