अंश विवादमा खुकुरी प्रहार गरी हत्या
ओखलढुङ्गा, २७ भदौं । ओखलढुङ्गामा हत्या अभियोगमा दुई जना पक्राउ परेका छन् । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–५ ढाडखर्क बस्ने ६८ वर्षीय मित्रबहादुर तामाङलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मृतककै माइला भाइ ६७ वर्षीय शेरबहादुर तामाङ र शेरबहादुरकै छोरा ३६ वर्षीय वीरबहादुर तामाङ रहेका छन् । जग्गा अंशबण्डाको बिषयमा उनीहरूबीच विवाद हुँदा शेरबहादुर र वीरबहादुरले खुकुरी तथा दाउ प्रहार गर्दा मित्रबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।