उपन्यास मोक्षभूमिलाई पद्मश्री पुरस्कार, गायक भक्तराज आचार्यलाई सम्मान
काठमाडौं, १२, असोज । २०७७ सालको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ र पद्मश्री साधना सम्मान गायक तथा संगीतकार भक्तराज आचार्यलाई प्रदान गरिने भएको छ ।
खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पुरस्कार दिने निर्णय गरेको हो । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले ट्वीटमार्फत यो जानकारी दिएका हुन् । पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशि तीन / तीन लाख रुपैयाँ छ ।
दाहालको उपन्यास ‘मोक्षभूमि’ दासहरूको मुक्तिबारे लेखिएको छ । झण्डै ७ सय वर्ष पुरानो मध्ययुगीन सिंजा खस साम्राज्यका चक्रवर्ती सम्राट क्राचल्लदेवले गरेको युद्ध अपराध र पापको प्रायश्चित्तका लागि १० हजार दासलाई मुक्त गरिएपछि आएको उथलपुथलमा उपन्या केन्द्रित छ ।
भजनशिरोमणिका रूपमा चिनिने आचार्य लामो समयदेखि संगीत साधनामा तल्लीन छन् । १६ वर्षकै अवधिमा दर्जनौं कालजयी गीत सिर्जना गरेका आचार्यको गायनयात्रा क्यान्सरका कारण जिब्रो काटिएयता रोकिएको छ ।