आजदेखि सार्वजनिक गाडीलाई ‘रुट परमिट’ नचाहिने

बढी भाडा मागे यात्रु सहायता कक्षमा गुनासो टिपाउन प्रहरीको आग्रह


२१ आश्विन २०७८, बिहीबार
bus park

काठमाडौं, २१ असोज । आज (बिहीबार) देखि सार्वजनिक गाडीलाई रुट परमिट नचाहिने भएको छ । अब सार्वजनिक गाडी जुनसुकै रुटमा पनि चल्न पाउने छन् । दशैंमा आवत–जावतलाई सहज बनाउन आजदेखि रुट परमिट हटाइएको हो । आजदेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक गाडी जुनसुकै ठाउँमा जान सक्ने छन् ।

यस्तै सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाडौंसम्मको सडकमा ठूला गाडी सञ्चालनमा रोक लगाएको छ । यातायात व्यवस्था विभागका अनुसार खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधनलाई भने रोकिने छैन । ट्रेलरलगायतका ठूला गाडीलाई भने कोजाग्रत पूर्णिमासम्म रोक लगाएको विभागका प्रवक्ता डाक्टर लोकनाथ भुसालले जानकारी दिए ।

यो सडक खण्डमा धेरै गाडी ओहोरदोहोर हुने भएकाले ठूला गाडीलाई प्रवेशमा रोक लगाइएको हो । यो सडक खण्ड भएर दैनिक हजारौं गाडी ओहोरदोहोर हुन्छन् । विशेष गरी चाडपर्वमा त झन् गाडीको संख्या दोब्बर तेब्बरले बढ्ने गरेको छ । दशैंका लागि बाहिरिने यात्रुको संख्या बढेसँगै केही दिनयता यो सडक खण्डमा लामो जाम हुने गरेको छ । अहिले पनि नागढुंगा नौबिसे सडकखण्डमा गाडी चापमा चलिरहेका छन् ।
बढी भाडा मागे यात्रु सहायता कक्षमा गुनासो टिपाउन प्रहरीको आग्रह
अग्रिम टिकट बुकिङमा तोकिए भन्दा बढी भाडा तिर्न बाध्य भएको यात्रुले गुनासो गरेका छन् । गएको असारमा सरकारले लामो दूरीका गाडीमा २८ प्रतिशतले भाडा बढाएको थियो । तर, दशैंको मौका छोपेर टिकट काउन्टरहरुले त्यो भन्दा पनि बढी भाडा लिने गरेका यात्रुले गुनासो गरेका हुन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जिव शर्मा दासले आफू ठगिएको जस्तो लागे नजिकैको यात्रु सहायता कक्षमा गुनासो टिपाउन आग्रह गरेका छन् । टिकट काउण्टर नजिक रहेका यात्रु काठमाडौंदेखि बाहिर जाने ७७ वटै जिल्लाको भाडादर टाँसिएको र त्यो भन्दा धेरै लिएको पाइएमा कारबाही गरिने उनले बताए ।

धेरैजसो टिकट काउन्टर अगाडि सहायता कक्ष राखिएकाले यात्रु ठगिने सम्भावना नभएको उनको दाबी छ । कोही अलमलिएमा सहायता कक्षमा रहेकाहरुले नै उनीहरुलाई सोधेर सहयोग गर्दै आएको उनी बताउँछन् । अहिले सादा पोशाकमा ट्राफिक प्रहरी खटिएर बढी भाडा लिए, नलिएको र अरु विभिन्न खालका अनुगमन गरिरहेको पनि उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७