करिब दुई वर्षपछि खुले सिनेमा हल


२२ आश्विन २०७८, शुक्रबार
cinema2021 10 08 06 18 14

काठमाडौं, २२ असोज । कोरोना महामारीका कारण बन्द भएका सिनेमा हलहरू बिहीबारदेखि खुलेका छन् । काठमाडौं, पोखरासहितका ठूला सहरका मल्टिप्लेक्समा मध्याह्न १२ बजेदेखि चलचित्र प्रदर्शन सुरु भएको हो । मुख्य मल्टिप्लेक्स चेन क्युएफएक्सले दिउँसो १२ बजेदेखि आफ्ना देशभरका आउटलेटमा हलिउड फिल्म ‘फास्ट एन्ड फ्युरियस’को नवौं श्रृंखला र नोबडी प्रदर्शन गरेको छ ।

कोरोना संक्रमण घटेपछि जिल्ला प्रशासन कार्यालयले ५० प्रतिशत अकुपेन्सीमा फिल्म हलहरू खुलाउन अनुमति दिएको थियो । यसपछि चलचित्र संघले हल खुल्ने जानकारी गत मंगलबार दिएको थियो । यद्यपि, नयाँ चलचित्र भने दर्शकले हेर्न पाउने छैनन् ।

फास्ट एन्ड फ्युरियसलाई दर्शकले डिजिटल प्लेटफर्ममै हेरिसकेका छन् । त्यसैले गर्दा पहिलो दिन दर्शकको उपस्थिति कम छ । त्यसो त दसैंअगाडिको समयमा सिनेमा हलमा दर्शक तान्ने फिल्म नभएसम्म भिडभाड कम नै रहने गर्छ ।

२६ असोजमा नेपाली चलचित्र डाँडाको वरपीपल र २८ असोजमा जेम्स बन्ड सिरिजको नयाँ फिल्म नो टाइम टु डाई रिलिज हुँदै छन् । संक्रमण रोक्न कोभिड प्रोटोकल पालना गर्दै हल खुलाइएको र त्यसको कडा रूपमा पालना गर्ने चलचित्र संघले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७