खुम्बु क्षेत्रमा लेक लागेर एक भारतीय पर्यटकको मृत्यु
सोलुखुम्बु, ३० असोज । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ फेरुचेमा लेक लागेर एक भारतीय नागरिकको ज्यान गएको छ । खुम्बु क्षेत्रको भ्रमणमा आएका १९ वर्षीय मेजिनको लेक लागेर शुक्रवार दिउँसो ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटुवालले जानकारी दिए ।
उनका अनुसार गाइड तथा अन्य साथी समेत नभएका भारतीय नागरिक असोज २८ गते बिहीवार खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ थुक्लाको याक होटलमा बास बसेका थिए ।
शुक्रवार बिरामी भएपछि उपचारका लागि स्थानीयले बोकेर हिमालय अल्टिच्युट हेल्थ पोष्ट फेरुचे लगेका थिए । उनको त्यही ज्यान गएको खुम्बु सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए । उनका अनुसार इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली हेलिकप्टरमार्फत घटनास्थलतर्फ लागेको छ । मृतक पर्यटकको अभिलेख इन्ट्रीमा समेत नभएकाले कहाँबाट कसरी प्रवेश गरे भन्ने विषयमा अन्योल भएको प्रहरीले जनाएको छ ।