नेपाललाई चीनले थप २० लाख डोज खोप दिने

बीआरआई र सीमा विवादबारे छलफल


२ कार्तिक २०७८, मंगलवार
Narayan Khadka China1634643228

काठमाडौं, २ कातिक । परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन संवाद भएको छ ।
आज (मंगलबार) भएको कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्री यीले थप २० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तो समेत दिएका छन् । मन्त्रालयका अनुसार टेलिफोन कुराकानीमा खड्का र यीबीच दुई पक्षीय सम्बन्ध, कोभिड–१९ विरुद्धको खोपमा सहकार्य, व्यापार र विकासमा समन्वय र सीमा व्यवस्थापनका विषयमा छलफल भएको थियो । कुराकानीका क्रममा तातोपानी र रसुवागढी नाकाबाट थप कन्टेनर ल्याउन दिने विषयमा पनि छलफल भएको बताइएको छ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले चिनियाँ समकक्षी वाङ यीसँग संवाद गरेका छन् । दुई समकक्षीबी ‘भर्चुअल’ माध्यमबाट एक घण्टा लामो संवाद भएको हो । भिडियो संवादमा चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को विषय प्राथामिकतामा परेको परराष्ट्र स्रोतले जानकारी दियो ।

संवादमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ परराष्ट्रमन्त्री वाङलाई बीआरआई परियोजना नेपालले स्वीकृत गरेको भन्दै कार्यान्वयनको चरणमा रहेको बताए । ‘परियोजना अन्तर्गत नेपालको हितमा रहेका पक्षहरूलाई हामी कार्यान्वयनमा तुरुन्तै लैजानेछौं’, मन्त्री खड्कालाई उद्धृत गर्दै स्रोतले भन्यो ।

परराष्ट्र मन्त्रालयबाटै भएको भिडियो संवादमा चीनले अतिक्रमण गरेको भनिएको सीमा क्षेत्रको विषयमा पनि छलफल भएको थियो । छलफलमा सीमासम्बन्धी थप अध्ययन गर्ने दुई देशको समझदारीमा विवाद भएको सीमा क्षेत्रको समस्या समाधान गर्ने भद्र सहमति भएको छ ।

‘स्वाभाविक रूपमा सीमा सम्बन्धी कुरा पनि उठान भयो, मन्त्रीज्यूले हाम्रो भूमिको सम्बनधमा स्पष्ट कुरा राख्नुभयो’, स्रोतले भन्यो, ‘उताबाट पनि आपसी समझदारीमा समस्या सुल्झाउन सहमति आएको छ ।’ कांग्रेस प्रतिपक्षमा हुँदा चीनले सीमा मिचेको सम्बन्धमा पटक पटक आवाज उठाएको थियो । कांग्रेसले चिनियाँ पक्षले हुम्लाको नाम्खा लिमि, लाप्चा देखि हिल्सासम्मको सीमा क्षेत्रमा अतिक्रमणमा परेको भन्दै अध्ययन प्रतिवेदन नै तयार पारेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७