वामपन्थी अगुवादेखि दोस्रो पटक राष्ट्रपतिसम्म
काठमाडौं, २९ फागुन । नेकपा एमालेका तर्फबाट विद्या भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी छन् ।
विद्यादेवी भण्डारी दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएसँगै नेपालले फेरि महिला राष्ट्रपति नै पाएको छ । नेपालले संघीयता कार्यान्वयनका बेला दोस्रो कार्यकालका लागि महिला राष्ट्रपति नै पाउँदा उनको राजनीतिक जीवनबारे जनताले चासो बढेको छ । तसर्थ यहाँ दोस्रो पटक पनि राष्ट्रपति बन्न सफल भण्डारीको जीवनी उल्लेख गरिएको छ :
विद्यादेवी भण्डारी २०१८ साल असार ५ गते भोजपुरको गुराँसेमा बुबा रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेकी सुपुत्रीका रूपमा जन्मिकी हुन् । विद्यादेवी भण्डारी नेपाली राजनीतिमा सफल व्यक्तित्व हुन् । २०३५/३६ सालदेखि प्रगतिशील विद्यार्थी आन्दोलनमा क्रियाशील उनले २०३७ सालदेखि तत्कालीन नेकपा (माले)मा संगठित हुँदै लोकतन्त्र र सामाजिक न्याय प्राप्तिको आन्दोलनमा सशक्त भूमिका खेल्दै आएकी छन् । २०३९ सालमा जननेता कमरेड मदन भण्डारीसँग वैवाहिक बन्धनमा बाँधिएकी विद्यादेवी भण्डारी २०५० माघमा सम्पन्न उपनिर्वाचनमा काठमाडौं– १ बाट प्रतिनिधिसभा सदस्यमा अत्यधिक मतका साथ विजयी बनेकी थिइन् । २०५१ सालमा सम्पन्न मध्यावधि निर्वाचन तथा २०५६ सालमा सम्पन्न तेस्रो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–२ बाट निर्वाचित हुँदै उनले विधि निर्माणमा क्रियाशील भूमिका खेलिन् ।
उनी पुनस्र्थापित प्रतिनिधिसभामा राज्यका हरेक अङ्गमा न्यूनतम एक तिहाई महिला सहभागिता सुनिश्चित हुनुपर्छ भन्ने संकल्प प्रस्तावका प्रस्तावक हुन् । रक्षा मन्त्रालय जस्तो चुनौतीपूर्ण जिम्मेवारी कुशलतापूर्वक सम्हाल्ने पहिलो महिला मन्त्रीका रूपमा स्थापित उनीसँग वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेको समेत अनुभव छ । २०५४ सालदेखि अखिल नेपाल महिला संघको अध्यक्षका रूपमा नेपाली महिला आन्दोलनको अगुवाइ गर्दै आएकी उनीसँग टे«ड युनियन आन्दोलनको समेत अनुभव छ । २०५४ सालमा सम्पन्न पार्टीको छैठौं महाधिवेशनबाट केन्द्रीय सदस्यका रूपमा पार्टीको नेतृत्वदायी भूमिकामा स्थापित भण्डारी आठौं र नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको उपाध्यक्ष जस्तो महत्वपूर्ण ओहदामा निर्वाचित भएकी थिइन् ।
नेपालको संविधान निर्माणमा पार्टीका तर्फबाट उनले महत्वपूर्ण योगदान गरेकी छन् । नेपालको लोकतान्त्रिक र वामपन्थी आन्दोलनकी एक जना सशक्त योद्धा, अग्रणी महिला नेतृ र सभासद् एवम् सांसदका रूपमा नेपालको संविधान एवम् विधि निर्माणमा महत्वपूर्ण भूमिका खेलेकी विद्यादेवी भण्डारी गणतन्त्र नेपालको राष्ट्राध्यक्ष जस्तो गरिमामय पदका दोस्रो कार्यकालका लागि चुनिनु उनीप्रतिको जनताको विश्वास पनि हो ।
सहपाठीलाई पछि पार्दै विद्यादेवी भण्डारी दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित
नेकपा एमालेकी विद्यादेवी भण्डारी दोस्रो कार्य पटक राष्ट्रपतिमा निर्वाचित भएकी छन् । मंगलबार भएको राष्ट्रपति निर्वाचनमा भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।
भण्डारीको ३९ हजार २७५ मतभार रहेको थियो भने प्रतिद्वन्द्वी कांग्रेस नेतृ लक्ष्मी राईको मतभार ११ हजार ७३० रहेको निर्वाचन आयोगको कार्यालयले जनाएको छ । मंगलबारको मतदानमा १८ जना सांसद अनुपस्थित रहेका पनि निर्वाचन कार्यालयले जानकारी दिएको छ । संघीय संसद्का तीन र प्रदेशका पाँच मत बदर भएको थियो । भण्डारी र कांग्रेसकी लक्ष्मी राई भोजपुरका हुन् । उनीहरुले भोजपुरको विद्योदय माविमा सँग पढेका हुन् ।
याे पनि पढ्नुहाेस्
सहपाठीलाई पछि पार्दै विद्यादेवी भण्डारी दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित
एउटै विद्यालय पढेका भोजपुरका दुई चेलीबीच राष्ट्रपतिमा प्रतिस्पर्धा